लामो समयपछि खुल्यो सुनचाँदीको कारोवार


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ २५, २०७७

  • काठमाडौँ, २५ जेठ । लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी (लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो । सरकारले लकडाउनको ढाँचामा परिवर्तन गर्ने प्रक्रिया शुरु गरेको र सोही बमोजिम सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उद्योग वाणिज्य सङ्घको सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । सोही अनुसार महासङ्घले सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । सोही अनुसार आज खुलेको बजारमा छापावाल सुनको मूल्य तोलाको रु ८७ हजार ४०० तय गरिएको थियो ।

    यस्तै तेजावी सुनको मूल्य रु ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासङ्घले आज चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार