न्युजिल्याण्ड कोरोना संक्रमणमुक्त, खुसीले नाचिन प्रधानमन्त्री जेसिन्डा, सबै प्रतिबन्ध हटाइयो


  • Frontline Nepal

वेलिङ्टन : न्युजिल्याण्डले सोमबार कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ। कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्युजिल्याण्डले यस्तो घोषणा गरेको हो।

प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी छिन्। प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताएकी छिन्। उनले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरेकी छिन्।

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डनले भनिन, ‘अहिलेका लागि न्युजिल्याण्डमा कोरोना भाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं। भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु।’

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्युजिल्याण्डमा कोभिड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो।

पछिल्लो १७ दिनदेखि न्युजिल्याण्डमा नयाँ संक्रमण देखिएको छैन। पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन्।

न्युजिल्याण्डले कोरोनाभाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो।

न्युजिल्याण्डमा अब सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन्। न्युजिल्याण्ड रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार