सिन्धुपाल्चोक आजदेखि लकडाउनः बजार सुनसान


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १, २०७७

  • काठमाडौं, १ भदौ । कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ । बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै गए राति १२ बजेदेखि लागु हुने गरी यहाँ एक सातासम्म लकडाउन गरिएको हो ।

    शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि एक सातासम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको थियो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र अब संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।

    यस अवधिमा कुनै व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम,, प्रदर्शन, शैलुन र खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालयमा आवश्यक सेवा भने बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

    लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी साधन चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार