शहर र अधुरा सपना


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २, २०७७

  • शुसीला थापा

    सोचेको सपना साकार हुन्छ । नसोचेको सपनाको कहाँ आकार हुन्छ र ? जब सपना देखिन्छ अनि आकार बनाईन्छ । म पनि यस्तै–यस्तै धेरै सपना बोकेर हिंडिरहन्थें ।

    चैत महिनाको समय थियो । गाउ घरमा छापामार (माओवादी) को धेरै चहलपहल थियो । हुँदा खाने र हुने खाने सबैलाई छापामारले यातना दिएकै थियो । कि त उनीहरुसँगै गोलि बारुद बोक्न जानु पर्ने रे ! कि त चन्दा दिनु पर्ने रे ! यस्ता यस्ता धेरै यातना सहनेमा हाम्रो पनि एक घर थियो । जम्मा ८ (आठ) कक्षामा पढ्ने म, राजनीति के हो ? मैले बुझ्न् सकेको थिइन । मैले बुझेको थिएँ भने आमाको दु:ख सबै बुझेको थिएँ ।

    सायद सानैमा बुबा गुमाएकाले होला । मलाई पनि रात दिन खुशी भन्दा दु:ख हुँदै गयो । कक्षा (८) आठको फाइनल परिक्षा दिएर बसेको थिएँ । घरको जेठो सन्तान ति एक्लि आमाको अघि पछि हिंड्ने सहारा म नै थिएँ । भान्साबाट म कराउँदै आमालाइ भन्छु, ‘आमा, नुनको ढिको छैन के हाल्ने तिउनमा ?’
    आमाले भन्नुभयो, ‘आजलाइ राती भैगो त्यही भाडो पखालेर हाल न ।’ मलाई राम्रोसँग थाहा थियो । नुनबिनाको तरकारी कस्तो हुन्छ । सानैमा बुबाको स्वर्गलोक भएकाले मैले पनि हिन्दु धर्म अनुसार (१३) दिन सम्म नुन बारेको थिएँ । बुबाको आत्माले शान्ती पाओस् भनेर । तर, बुबाको शान्ति पायो कि पाएन, त्यो थाहा छैन । आमा गोठको धन्दा (काम) सकेर घर आउनु भयो । सानो भाई जम्मा ८ महिनाको, त्यो पनि दिनभरी मेरो जिम्मा छोडेर अरुको मेलो सकेर आउनु भएको थियो । विचरा त्यो अबोध बालकलाई के थाहा आमा थाकेर आएकी होलिन् भन्ने । भाइ रूँदै आमाको छेउमा जान्छ । आमा भक्कानिदै भन्नु हुन्छ, “के गर्नु दैबको लाठि मैमाथी “पैसा सुक्को छैन । नुन को ढिको छैन । उता बहिनी कराउन थाली, ‘आमा भोक लाग्यो ।’

    आमा सुस्केरा हाल्दै फेरि भन्नु हुन्छ, अभागी खप्पर जहाँ गयो ठ्क्कर । काम गरेको नि पैसा दिएन साहुले ।

    ‘उफ् कसरी पाल्ने मैले ? आमा एकछिन् नबोली बस्नु हुन्छ । र, फेरि भन्नु हुन्छ । तैं छस् र मलाई बाँच्ने आधार छ । भोली विहानै बजार गएस् है छोरी, दुइ पाथी नुन लेर आयस् एक पाथिको पैसा तिर्नु । एक पाथि पछि आमा आएर दिने भन्नु ।’ आफ्नो भान्सामा जस्तो पाकेको छ । त्यस्तै खान थालियो । खान मिठो नै थिएन । होस् पनि कसरी नुन बिनाको तरकारीसँग ?

    रातीको समय मलाई निन्द्रा भन्दा पीडा बढिरह्यो । बुबाले जहिले नि भन्नु हुन्थ्यो, मेरी छोरी भाग्यमानी छ । यस्तो कुराले मेरो मन फुरुङ्ग हुन्थ्यो । तर, होइन रहेछ । खै यस्तै के के सोचेर होला निन्द्रा नै आएन रातभरि । उज्यालो पो भैसकेको रहेछ । आँखै नजोडि आमा भन्नु हुन्छ, छोरी उज्यालो भयो उठ् छिटै गएस् बाटोमा साथी पनि भेटिन्छ ।

    यदि कोहि नभेटे पनि माथिको भरिया दाई भेटिन्छ । उसैको साथ जानु अनि छिटो आउनु नि । बाटोमा अलमल नगरेस् बर्षातको समय छ । पानी आउन सक्छ । आमाले पचास (५०) रुपैंयाँ दिदै भन्नु भयो, एकपाथी नुनको पैसा दिनु । एक लिटर मट्टीतेल ल्याउनु । बाँकी रहेको दश रुपैंयाँको एक माना चिउरा र दालमोठ किन्नु । अनि बाटोमा खानु । बाँकी रहेको भाइ बहिनीलाई पनि लेर आउनु ।
    हस्, हस् भन्दै म पल्लो ठाडोतिर लागें ।

    आमाले भनेजस्तै ठाडो बाटोमा साथीहरुसँग मेरो भेट् हुन्छ । भेट् भएको साथी एक जना दिदीले भन्नु भयो, तँ पनि बजार जान लागेकी हो ? म लगत्तै जबाफ दिइहाल्छु । हो, नुन लिन जान लागेकी । मलाई देखाउँदै काका पर्ने भन्दै छन् । यो पनि ठुलो भै । विचरा बाउलाइ दुश्मनले लगिहाल्यो । आर्मीको जागिर केहि गर्छु भन्ने कति रहर थियो होला । छोराको मुखसम्म देख्न पाएन ।

    बजारमा पुगियो । फर्केर आउँदा बाटोमा धेरै कुरा हुँदै छन् । केहि सहरका कुरा, केहि गाउका । कान्छी आमा भन्दै हुनुहुन्छ, सहरमा त सफा बाटो, सुकिला मानिस, मिठा मिठा खानेकुरा हुन्छन् । गाउघर जस्तो दु:ख हुँदैन । कान्छी आमाका यी कुराले मेरो मन पनि गाउ भन्दा सहरतिर नै लोभियो । नलोभियोस् पनि कसरी टनटलापुर घाममा नुनको भारी बोक्दा सारै गार्‍हो भएको थियो । मैले कान्छी आमालाई सोधिहालें, हामी नुन लिन गएको बजार भन्दा पनि ठुलो हुन्छ हो काठमाण्डु सहर ? कान्छी आमालाई हेर्दै भन्नु हुन्छ, हो, नानि ठुलो हुन्छ । मेरी छोरी मनिसा पनि जाँदैछे । बिहान बेलुकी घारको काम पनि पाउछ । पढ्न पनि पाइन्छ । पैसा पनि आउछ ।

    कान्छी आमाको यो कुराले मलाई पनि सहर जाने रहर जाग्यो । फेरि सोधें, कान्छी आमा पढ्न पनि पाइन्छ त ?

    अँ, पाइन्छ । साहुको घर हो । मिठो मिठो खान पनि पाइन्छ । कान्छी आमाको कुराले मेरो मनमा छुट्टै किसिमको हुल्दुङ्ग चल्न थाल्यो । दिनभरी यो नुनको भारी छ जस्तै लागेन । सायद कल्पनामै डुबेर होला बेलुका घर आइपुगियो । एक्कासी आमालाई भन्ने आँटै आएन । आओस् पनि कसरी ? एक्लि आमा साना–साना भाइ बहिनी आमाको के हालत होला ? म हिडें । ति मेलापात को गइदेला गाइ बस्तु किलामै पट्टेलान् । होस् जाँदिन । अर्को कोल्टे फर्किदै मनमा फेरि कुरा आउछ । घरको दु:ख, साहुको किचकिच । आमाको दिन रातको आँशु होस् आमालाइ । भोली जसरी पनि भनेर जान्छु । सोच्द सोच्दै रातिको १ बजिसकेछ । म निदाएछु । सबेरै आमा उठेपछि म पनि आमासङ्गै उठ्छु । घरको काम धन्दा सकिन्छ । आमा पिढीमा बस्नु हुन्छ । म पनि आमा नजिकै गएर बसें । आमालाई हिजो बाटोमा भएको सबै कुरा सुनाएँ । आफु पनि सहर जाने अनुमती माग्छु ।

    आमा मेरो टाउकामा हात राख्दै भन्नुहुन्छ । तिमीले सोचे जस्तो छैन सहर । बाबु खानी छोरो हेर्ने ठाम हो त्यो । नजाउ तिमी भाग्यमा लेखेको भन्दा धेरै र कर्म भन्दा अगाडि केहि पाइदैन । स्वार्थी छ संसार । तिमीले बुझेकी छौ । मेरा कलिला मस्तिष्कमा सहरको भुत पसि सकेको थियो । म केहि नबोली रिसाएको जस्तो के गरेको थिएँ, आमाको मन हो । आफु मर्न तयार हुन्छन् । तर, आफ्नो सन्तान दु:खी भएको देख्न सक्दैनन् । आमाले म दु:खी भएको देखेर होला । जा त जा कान्छी आमालाई सोध्, कहिले जाने हो मनिसा भनेर ? मलाई भेट्नु भन् । कान्छी आमालाई ?

    म खुशी हँुदै जान्छु कान्छी आमा लिन । आमा र कान्छी आमाबिच के–के कुरा हुन्छ । त्यो कुरामा मेरो ध्यान नै जाँदैन । जान्छ त केबल सहरको स्कुल कस्तो होला ? कान्छी आमाले हिंड्ने बेलामा भोली बेलुका उतै पठाइदिन भन्नु हुन्छ । मेरो खुशीको सिमा नै थिएन । मध्यान्ह ४ बजेको थियो । आमाको मन हो सबै कपडा झोलामा हालिदिनु हुन्छ । आमासङ्ग भएको सबै पैसा बाटोमा केहि खानु है भन्दै दिनु हुन्छ । बाहिर पानी सिमसिम परेको छ । हावा हुरी पनि अलि अलि चलेको छ । आमा भक्कानिदै भन्नुहुन्छ, राम्रो सङ्ग गएस् है ।

    यो भन्दा अरू केहि पनि आमा बोल्नै सक्नुहुन्न । म पनि खुशी त कहाँ हुन सक्थें र ? आमाबाट छुटेर एक रात पनि कहीं गएको थिइनँ । यो मेरो रहर होइन बाध्यता थियो । झोला बोकें । पानीले भिजाउला भनेर आमाले प्लास्टिकले छोपिदिनु भयो । अनि नजिकै खोलामा पुर्‍याउन जानु हुन्छ । खोला नतरुन्जेल मलाइ हेरेरै बस्नु हुन्छ । मलाइ ठुलो स्वरले बोलाउँदै भन्नुहुन्छ । सहर पुग्ने बित्तिकै पठायस् है । अनि सुन् त कान्छी आमालाई आमाले पैसा दिनु भएको छ नभनेस् । म ल, ल भन्दै खोला पारी ठाडो बाटो आरालो लाग्छु । आमाको आँखाले भ्याउने बेला सम्म मलाई नै हेरिरहनु हुन्छ । फर्केर आएर आमालाई अंगालो हालेर रून मन लागेको थियो । तल पुगेर आमालाई नबोलाएको त होइन ।

    तर, मैले बोलाएको आमाले नसुन्ने, आमाले बोलाएको मैले नसुन्ने ठाउमा पुगिसकेछु । साँझमा कान्छी आमाको घर पुगें । खाना खान मलाई कुरेर बस्नुभएको रहेछ । खान खाएर सुतियो । विहानै सबेरै बस चढेर शहर लाग्छौं । त्यहाबाट म नुन लिन गएको बजार पुगिन्छ । ६ बजेको बस चढेर म, मनिसा दिदी, कान्छी आमा हिंड्छौ । लामो यात्रापछि खाना खाने ठाउ पुगिन्छ । झन्डै एघार ११ बजेको थियो होला ।

     

    जुन ठाउलाइ बार्‍हबिसे भनिन्छ । मनमा अनेकांै खुल्दुली चलिरहेको छ । खाना खानै मन लागेन मनिसा दिदीले काँक्रो किन्नु भएको थियो । त्यहि खाएँ । लगभग एक घन्टाको बसाइपछि हाम्रो बस अघि बढ्छ । बेलुकाको तीन बजेको थियो । काठमाडौं पुगियो । सहर कान्छी आमाले भनेको जस्तै थियो । ठुला ठुला घर, मानिसको भिड, ठुला ठुला बाटाहरु ।

    आहा † कति रमाइलो । मनमा एक किसिमको छुट्टै खुसी मिलिरहेको थियो । हामीलाई कतै नलगि सरासर कान्छी आमाले एक जना मानिसलाई जिम्मा लगाई दिनु भयो । मेरो पनि नातै पर्छ भन्दै हुनुहुन्थ्यो । तर, मैले त्यो भन्दा पहिले कहिले देखेको थिएन । उहाँको अनुहार सेतो र सफा कपडामा हुनुहुन्थ्यो । उहाँले मनिसा दिदी र मलाई सरासर साहुको घरमै लग्नुभयो । मैले साहुको घरभित्र नपुग्दै गेटमा मेरा बुबाले लगाउने जस्तै लुगा लगाएका दुइ, तीन जना मानिस देखें । ती थिए आर्मी थिए ।

    यो देख्ना साथ मलाई बुबाको साह्रो याद आयो । सायद त्यहाँ कोही हुँदैनथ्यो भने डाको छोडेर रुन मन लागेको थियो । मेरो मनमा कतै मेरा बुवा पनि यस्तै गरि ड्युटि त बस्नु भको छैन जस्तो लाग्यो । तर, के गर्नु मेरो भाग्य नै खोटो थियो । उहाको र मेरो भेट कहिले नहुने थियो । मात्र सम्झनाको निसानी मात्र थियो । दुश्मनले पहिला नै मार्दिएका थिए ।

    हामीलाई ती काकाले त्यहा गेटको आर्मीसङ्ग कुरा गरेर त्यही छोडेर जानु भयो । आर्मी दाईले हामी बस्ने कोठा देखाउनु भयो । हामी त्यही कोठामा बस्यौं । बेलुकाको ५ बजेको थियो होला । मेरो मनमा यति ठुलो घर, बस, वरिपरि फुल बगैचा, यो घरको साहु को होला ? कस्तो होला ? कतिखेर भेट्न आउछ होला ? स्कुल कता छ होला ? स्कुल झन् कस्तो होला ? मेरा मनमा यस्तै यस्तै कुरा खेली रहेको थियो । बेलुकाको खान खाने समय भएछ । आर्मी दाइले खाना खान बोलाउनु भयो । खाना खाएर के बसेका थियौं, एकजना दिदीले कोठा नजिकै आएर भन्नुभयो, तिमीहरुलाई रानीसापले बोलाइबक्सेको छ । त्यो दिदीसंगै हामी दुई रानीसापको खोपीमा प्रबेश गर्छौं ।

     

    ठुलो पोस्ट भएको आर्मीको पत्निलाई रानीसाप भन्नुपर्ने रहेछ । म आर्मीकै छोरी भएपनि मलाई थाहा थिएन । रानीसापले हामीलाई सबै कामको सेड्युलबारे जानकारी गराउँदै भन्नु भए । म रानीसापको खुट्टामा तेल लागाउने राति, बिहान बच्चासङ्ग खेल्ने, दिउसो टपरी गाँस्ने, पुजाको लागी बत्ती कात्ने, जस्तो काम गर्नु पर्ने रे । मैले सोधिहालें, म पढ्न चै कहिले जाने नि ? मैले के सोधेको मात्र थिए, मेरो गालामा एक झापड हान्दै ‘म सँग मुख फर्काउने होइन अब देखी’ रे पो । म त अलमल्ल परें ।

    मेरी आमाले कुनै दिन ठुलो स्वर गरेर नबोलाको मलाई । उ त मेरो न कोही न उसको केही खाईदेको थिएँ त केबल अघि भर्खर धेरैमा पाँच गास भात ।

    एकाएक आमालाइ सम्झें । भाई, बहिनी सबैको सम्झन आयो । केहि बोलिन । मात्र आँसु आयो । रानीसापले फेरि ठुलो स्वरमा भन्नुभयो । रुने होईन नर्बदाले तेल दिन्छे अनि मेरो खुट्टामा तेल लगाउने जब म निदाउछु । अनि गएर सुत्ने । मेरी आमा पनि महिला हुन् । तर, रानीसाप जस्ती महिला कहिल्यै देखेको थिएन । कस्तो निर्दयी महिला । मेरा ति कलिला हात, पहिलो पल्ट पनि रजस्वला नभएकी वालिका, हात्तीका जत्रा खुट्टा के उचाल्न सक्थिें र ! रानी साप् निदाउने साथै कोठा फर्कें । रातभरी आँखाबाट आँसु रोकिएन ।

    सायद मनिसा दिदीको पनि आसु रोकिएका थिएनन् होला । दिन बित्यो रात बित्यो । न त आमालाई चिठी नै पठाउन सकें, न त पैसा । गेट काटेर बाहिर निस्किन सक्ने अवस्था थिएन । रानीसापको कुटाई ति बच्चाको कुटाइ घरमा आमाको याद । बिचरी म । एकदिन मलाई झट्ट सम्झना आउछ । म गाउमा छँदै गाउको एक जना दाइले सहरमा काम पायो रे उसले कामगर्ने ठाउमा फोन पनि छ रे । उसको काम गर्ने ठाउको फोन नम्बर यो हो रे भनेको सुनेको थिएँ । सोचें यही दाईलाइ सम्पर्क गरेर आफुलाइ बाहिर निकाल्न अनुरोध गर्छु ।

    तर, कसरी गर्ने रानीसापको डर, चिफ्सापको डर वरिपरि आर्मीनै आर्मी त्यो दिन यसै बित्यो ।

    केहि साहास जुटाउँदै थिएँ । मैले रानीसाप्ले फोन चलाको देखेरै सिकिसकेको थिएँ । एकदिन रानीसाप बाहिर निस्केको मौका छोपी त्यो दाईलाई फोन गरें । दुर्भाग्य त्यो दाइ बाहिर निस्केको समय परेछ । सम्पर्क हुनै सकेन । मैले त्यो फोन रिसिभ गर्ने दाइलाइ आफु रमेसको गाउको बहिनी र आफुलाई निकाल्न अनुरोध गरेको जानकारी गराएँ ।

    मेरा आँखामा आँसु सकिसकेर हो कि दु:ख सहन सक्ने आदत भएर हो । खै त्यो दिन भने मेरा आँखामा आसु नै आएन । मात्र भित्रभित्र अकबरे खुर्सानीले पोले झैँ भयो । फेरी फोन गर्ने मौका नै मिलेन । त्यसको एक महिनापछि फेरी रानीसाप् बाहिर निस्केको मौका छोपी फोन गरें । त्यो पटक भने रमेस दाइसङ्ग भेट भयो । मैले सबै कुरा भनें । मैले जति रूँदै फोन गरेको थिएँ त्यो भन्दा बढी रमेस दाई रूनु भो होला । दाइले भोलि नै लिन आउने बाचा गर्नु भयो । यतिका दु:ख पाउदा पनि खबर नगरेकोमा मलाई गाली पनि गर्नु भयो ।

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार