निषेधाज्ञासँगै रगतको अभाव


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ३, २०७७

  • चितवन, ३ भदौ । निषेधाज्ञासँगै जिल्लामा रगतको अभाव देखिएको छ । यहाँ भरतपुर अस्पताल, विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल रहेका छन् । ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीले अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ ।

    कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत प्रयाप्त मात्रामा पाउन कठिन भएको हो । पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मीलगायत बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसका कारण रक्तदाता इच्छा हुंँदाहुदै पनि केन्द्रसम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो । कोरोना त्रास र जोखिमका कारण रक्तदाता रगत दिन डराएका उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उहाँले बताउनुभयो । पौडेलका अनुसार जिल्लाका अस्पतालहा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

    कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार