संसद्का सभाध्यक्षको पाँचौँ विश्व सम्मेलन ’भर्चुअल’ बाटै शुरु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ३, २०७७

  • काठमाडौँ, ३ भदौ । संसद्का सभाध्यक्षहरुको पाँचौँ विश्व सम्मेलन ‘भर्चुअल’ माध्यमबाट शुरु भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू) र अष्ट्रियाको संसद् (पार्लियामेन्ट अफ अष्ट्रिया) को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसद्बाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।

    प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगष्टका लागि दुई दिनका लागि तय भएको थियो । कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट सम्मेलन आजदेखि शुरु भएको हो । सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै सांसदद्वय डा नारायण खड्का र डा विमला पौडेल सहभागी हुनुहुन्छ ।

    सयभन्दा बढी देशका संसद्का सभाध्यक्ष नेतृत्वको टोली सहभागी सम्मेलनको मुख्य विषय ’मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व’ रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रबद्र्धनलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ । सम्मेलन भर्चुअल भएकाले सहभागी राष्ट्रले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश दिएका छन् ।

    सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत नयाँ संविधान निर्माण गरी नेपाल दिगो विकासको लक्ष्य प्राप्तिका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित अगाडि बढिरहेको बताउनुभयो । विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विश्व समुदायले भोगिरहेको कोभिड– १९ नियन्त्रणका लागि जनप्रतिनिधिको उच्चतम विधायिकी अङ्ग संसद्ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

    उहाँले आर्थिक स्थायित्व, रोजगारी सिर्जना र स्वास्थ्य क्षेत्रमा सिर्जित समस्या समाधानका लागि नीतिनिर्माण तथा योजना तर्जुमा गर्नु संसद् र सांसदको कर्तव्य भएको जनाउनुभयो । अध्यक्ष तिमिल्सिनाले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा समन्वय एवं सहकार्यका लागि अन्तरव्यवस्थापिका सङ्घ जस्ता बहुपक्षीय संस्थासँग एकीकृत प्रयास र एकताका लागि संसद् क्रियाशील हुनुपर्ने बताउनुभयो ।

    सम्मेलन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस, आइपियु अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आइपियु महासचिव मार्टिन चुङगोङले कोभिड –१९ र समसामयिक विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

    सम्मेलनले साझा घोषणापत्र जारी गर्ने छ । आगामी सम्मेलन सन् २०२१ मा पुन ःअष्ट्रियामा नै हुने आइपियुको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार