पानीको उत्पादन बढेसँगै वितरण वृद्धि


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ ४, २०७७

  • काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको वितरण बढाइएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनको अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ ।

    त्यस्तै सार्वजनिक ट्याङ्की र धारामा पनि उपलब्ध भएअनुसार पानी बितरण गरिँदै आइएको छ । विगतका वर्षहरुमा जस्तै सुख्खा मौसमभन्दा वर्षायाममा बढी परिमाणमा पानी उत्पादन हुने र उपत्यकाका अरु स्रोतबाट पनि पानी थप भएकाले पानीको उत्पादन बढेको बताइएको छ ।

    यो वर्ष केही पुरानो ट्युववेलको मर्मत र केही नयाँ निर्माण गर्दा दैनिक दुई करोड लिटर पानी थप भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ’,  उनले भने,  ‘वर्षाका कारणले पनि भदौसम्म पानी उत्पादन बढी हुन्छ ।’

    लिमिटेडले उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ । उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सधैँ पानीको हाहाकार भइरहेको छ । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी आयोजनालाई काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका उपायका रुपमा हेरिएको थियो । मेलम्ची खानेपानी आयोजनाले सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ ।

    लिमिटेडले विभिन्न स्थानमा ट्युबवेल खन्ने, पुरानाको मर्मत र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ । उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ । उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन् ।

    शहरी क्षेत्रमा एउटा घरमा धेरै परिवारको बसोबास भएपनि उपत्यकामा कोभिड–१९ का कारण धेरै उपत्यका बाहिर गएकाले पानीको समस्या कम भएको उपत्यकाबासी बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार