सत्ताको सपथ खाएपछि
तिमी बदलियौ
तिम्रो व्यबहार बद्लियो
तिमी शासक भयौ
तिम्रो कडा शासनको
मज्जा लिइरहेछु ।
सिंहदरबार छिरेपछि
तिमीले भिलेनको भूमिका गरिरहेछौ
तिम्रो भूमिका बदलिएछ
भ्रमको पर्दा च्यातेर
तिम्रो असली रुप हेरिरहेछु ।
सपनाको खुबै कुरा गथ्र्यौ
तर, बिपना बाँच्न सकेनौ
यस्तरी स्खलित भयौ कि
आफ्नै सपनालाई
तारेभिरबाट धकेलिदियौ
तिम्रो मुल्याङ्कन समयले गरिरहेछ ।
बुद्धलाई हेरेर, तिम्रो मन बद्लिएन
फूललाई छोएर, तिम्रो हृदय कोमल भएन
बुद्धम् शरणम् गच्छामी जप्दै
शान्तिमाथी आक्रमण गर्यौ
समय बलशाली कि तिमी, हेरिरहेछु ।
तिम्रो बेइमानीले
मेरो विश्वासको सिमा नाघिसकेको छ
मेरो आदर्शको चौघेरोबाट
तिमीलाई पर धकेलिसकेको छु ।
तिमीले भर्याङ् टेकेर उक्लिएको काँध बिर्सियौ
गरिब, किसान र मजदुरहरुको
बलियो साथ बिर्सियौ
र, सपनाहरु तिम्रो बिरोधी भएका छन्
चलिरहेको हावा र बगिरहेको पानी पनि
तिम्रो विरुद्धमा छन् ।
एकदिन आँधिबेहरी
तिम्रो विरोधमा आउनेछन्
तिम्रो सिँहासन ध्वस्त बनाउनेछन्
र, त्यो दिन
अब धेरै टाढा छैन ।
- भीम ज्वाला राई