निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, भदौ ७, २०७७

  • चितवन, ७ भदौ । बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए । आफैँले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए । वरपर बसेर हेर्नेहरुले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए ।

    महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ । अधिकारीले भने, ‘म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु ।’ यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो । यहाँ ३५ हजार जनसङ्ख्या रहेको अधिकारीले बताए । भरतपुरको मुख्य शहरी क्षेत्र सँगै रहेकाले यहाँ न्यून वर्गका सुकुम्वासीदेखि सम्पन्नसम्म बसोबास गर्दछन् ।

    वडा सदस्यहरुसहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरीक्षक वसन्त पौडेल, जलदेवी स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवी कँडेल, वडा सचिव ओमप्रकाश न्यौपानेले अधिकारीलाई साथ दिइरहेका छन् । वडामा हालसम्म १६ जनालाई कोरोना सङ्क्रमण भइसकेको कँडेलले बताए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने नौ सक्रिय सङ्क्रमित छन् । जिल्लाका सात स्थानीय तहमा ९८ वडा छन् । ती अधिकांश स्थानमा वडाध्यक्ष यसरी नै रोग नियन्त्रणका लागि जुटिरहेका छन् ।

    भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित घरमा बस्दा दिनभर फोनमै काम गरिरहनु पर्ने र निषेधाज्ञा लागु गराउन सडकमा जानुपर्दा छुच्चो हुनुपरेको बताए । उनले भने, ‘निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो । हामी सबै सचेत हुनुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ जनप्रतिनिधिहरुले निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरीलाई साथ दिएको बताए । बिहान सबेरैदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिरहनुभएका गुरुङले रोगको जोखिमको बारेमा आम जनताले बुझिरहेको बताए ।

    उनले भने, ‘सबै एकजुट भयौं भने रोगसँग लड्न सक्छौ ।’ जिल्लामा दैनिक सङ्क्रमित बढ्दै गएको छ । आजसम्म सङ्क्रमितको सङ्ख्या ३३३ नाघिसकेको छ भने जिल्लाका तीन जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी छ । बिहान र बेलुका अत्यावश्यक पसलहरु खुलेका भए पनि अन्यलाई रोक लगाइएको छ । जनप्रतिनिधिहरु यसरी जुटिरहँदा समेत अवज्ञा गर्नेहरु पनि ठाउँठाउँमा भेटिएका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई कारवाही तीव्र पारिएको गुरुङले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडा तहका जनप्रतिनिधिहरुको भूमिका प्रशंसनीय रहेको भन्दै वडा र टोलले निषेधाज्ञा कार्यान्वयनमा भूमिका निर्वाह गरिरहेको । उनले भने, ‘समन्वयमा उहाँहरुको भूमिका प्रभावकारी छ । अझै उहाँहरु लाग्नु पर्दछ ।’ सबै एकजुट भएर कोरोना रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार