उपत्यकामा निषेधाज्ञाको अबधि भदौ १७ गतेसम्म लम्बिने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ १०, २०७७

  • काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । बुधबार बिहान बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त दुई दिने बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।
    मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच निषेधाज्ञाबारे छलफल भएको थियो । यस क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेकै अवस्थामा एक साता निषेधाज्ञा बढाइएको बताए । ‘कोरोना संक्रमण बढीरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेका हौं’, प्रजिअ दाहालले भने । अघिल्लो बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज (बुधबार) राति १२ बजेबाट सकिदै छ ।

    मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संघीय सरकारको गृह मन्त्रालयसँग समेत छलफल गरेका थिए । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले संक्रमण बढेको भन्दै निषेधाज्ञा थप गर्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

    ‘विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यकाभित्र निरन्तर बढिरहेको छ,’ काठमाडौं जिल्लाका प्रमुख अधिकारीले जारी गरेको आदेशमा भनिएको छ,’ यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ भदौ १ को निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम २०७७ भदौ १० गते राति १२:०० बजेदेखि २०७७ भदौ १७ गते राति १२:०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्नरगराउन निषेध गरिएको छ । ’

    ललितपुर र भक्तपुरले पनि विज्ञप्ति जारी गर्दै यी विभिन्न सेवाहरुमा रोक लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार