किरण तिम्सेना
मार्क्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र मार्फत मार्क्सवादको प्रतिपादन गरिएको हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त र सर्वहारा श्रमजीवि वर्गको विश्व दृष्टिकोण हो । प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था आदि बारेमा कार्ल मार्क्स र फ्रेड्रिक एंगेल्सले महान खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्ग संर्घष, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारा अधिनायकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् ।
यस्तै मार्क्सवादले संसारलाई बदल्न सकिन्छ भन्ने मान्यतालाई अंगालेको छ । समाजको विकास क्रम जसरी दास समाज, सामन्तवाद हुँदै पुँजीबादसम्म आईपुगेको छ, अब पुँजीपती वर्गले राज गरेको राज्यलाई भत्काएर समाजबादसम्म पुग्न मानिसको चेतना, दृष्टिकोण र संगठनका माध्यमबाट विद्रोह गर्दै अगाडि बढ्न सम्भव हुन्छ भन्ने मार्क्सवादले दिशाबोध गरेको छ । मार्क्सवादले लोकतन्त्र र राजनैतिक स्वतन्त्रता संगसँगै आर्थिक सामाजिक स्वतन्त्रताको दृष्टिकोणलाई अंगिकार गरेको छ । मार्क्सवादले राजनीतिक क्रान्ति गरेर मात्रै क्रान्तिले पुर्णता प्राप्त गर्दैन, आर्थिक, सामाजिक समानता र सामाजिक न्यायका लागि समाजबादि क्रान्ति गरेर मात्रै समाजबादी ब्यबस्थामा लोकतन्त्र र राजनीतिक स्वतन्त्रता फस्टाएर जान्छ भन्ने मान्यतालाई अंगीकार गरेको छ । मार्क्सवादले ज्ञानको सिद्धान्त र व्यबहारवादी मान्यताको सिद्धान्तलाई आत्मसात गरेको छ ।
समाज गतिशील छ, गतिशीलता र मानिसको चेतनाको विकाससँगै मानिसका चाहना र आबश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्दा मात्रै समाजबाद हँुदै समाज साम्यवादी समाजको विकसित अबस्थामा पुग्ने भन्ने उल्लेख गरिएको छ । यस्तै महिला वर्गको मुक्तिको उद्घोष, सम्पत्तिमाथि महिलाको अधिकार, मतदानको अधिकार र महिलालाई नेतृत्वमा स्थापित गर्नु पर्ने, युवा, श्रमिक र किसानका अधिकारलाई सुनिश्चित गर्न कम्युनिस्ट घोषणापत्र मार्फत मार्क्सले दृष्टिकोणलाई अगाडी सारेका छन् ।
नेपालको सन्दर्भमा वि.सं २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएपछि मार्क्सवादी विचारको प्रचार–प्रसार ब्यापक हुन थाल्यो । सबै मानिस बराबर हुन् । महिला र पुरुष, उच र नीच भनेर गरिने सांस्कृतिक विभेद अन्याय हो, शोषण हो । यस्तो विभेदको अन्त्य हुनुपर्छ भन्दै अनेक जागरणका कार्यक्रमहरु गरिए ।
जनस्तरमा आएको चेतनाको लहरले २०४६ सालको परिवर्तन ल्यायो । समानताको चेतनालाई दस वर्षे जनयुद्धले अझै पाको बनायो भन्ने मानियो । २०६२–६३ को आन्दोलन र त्यसको सफलतापछि उठेका कैयौं मुद्दाहरुले जनतालाइ गणतान्त्रिक युगसम्म आइपुग्दा स्वतन्त्र र अधिकारसम्पन्न भएको मानियो ।
अझ सवैभन्दा रोचक त, सात दशकदेखि समाजवादको नारा बोकेर हिंडेको दावा गर्ने कम्युनिस्टहरू नै स्पष्ट बहुमतले तीनै तहमा सत्तासीन हुन आइपुगे । मार्क्सवादी विचारधाराको सारले भन्छ— उत्पीडित वर्गको मुक्ति र गरिमापूर्ण जीवन नै कम्युनिस्ट मिसनको कुञ्जी हो । वर्ग विभाजित समाजको इतिहासलाई उल्ट्याएर वर्गविहीन साझा समाज बनाउनु नै कम्युनिस्ट आन्दोलनको लक्ष्य हो ।
यसैका आधारमा देशमा थुप्रै क्रान्ति भए, आन्दोलन भए । कैयौं परिवर्तन पनि भए । भारतमा अध्ययन गर्ने अवसर पाएका उच्च जातका सम्पन्न परिवारका मानिसले सत्तामा पुग्ने सिढी बनाउन मार्क्सवाद नेपालमा ल्याएका हुन् । मार्क्सवादको विस्तारका लागि जातीय सञ्जालको नै उपयोग भयो । पढेलेखेका र आर्थिक हैसियत राम्रो भएका मध्यमवर्गीय उच्च जातका मानिसले नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेका हुन् ।
कम्युनिस्ट हुनु भनेको परिवर्तनमुखी र विद्रोही हुनु हो भन्ने बुझाइ स्थापित गरे । आफूलाई चेतनशील ठान्ने, परिवर्तनका लागि काम गर्न उत्साहित र विद्रोह मन पराउनेहरूका लागि मार्क्सवाद एउटा अभियान बनाए । मार्क्सवादी हुनु नै मध्यमवर्गीय उच्च जातको विशिष्ट र सम्मानित परिचय हो भनेर बुझाए । यो धारमा स्थापित नेपालको कम्युनिस्ट आन्दोलन स्थापित सत्ताको प्रतिरोधमा यति धेरै व्यस्त भयो कि नेपालमा कम्युनिस्ट विचारधारा वा समाजवाद कस्तो हुने भन्ने प्रश्न नै हरायो ।
मार्क्सवादको प्रयोग कसरी गर्ने भन्ने प्रश्न पनि कहिल्यै उठेन । कम्युनिस्ट पार्टीले कस्तो ठोस परिवर्तनको नेतृत्व गर्ने र कस्तो राजनीतिक पद्धति अपनाउने भन्ने विषय प्राथमिकतामा नै परेन । जे–जस्तो भए पनि कम्युनिस्ट पहिचानसँग जोडिएको प्रतिष्ठा र यसबाट आर्जन हुने राजनीतिक लाभ कम्युनिस्ट नेताहरूले राम्रोसँग बुझेका थिए ।उनीहरूलाई समाजवाद शब्दसँगको आसक्तिलाई राजनीतिक संगठनको आधार बनाउन सकिन्छ भन्ने थाहा थियो । र, उनीहरु सफल भए । कृषक र मजदुरको पक्षमा कम्युनिस्ट पार्टी या नेताहरू उभिनु अब दुर्लभ भैसकेको अवस्था छ । यसबाट प्रस्ट हुन्छ कि नेपालमा मार्क्सवाद र क्रान्तिको नाममा सत्तामा पुग्नुनै एक मात्र लक्ष्य थियो ।
एउटा कम्युनिस्ट नेताको काम के हो ? हरेक व्यक्तिभित्र रहेको परिवर्तनको चाहनालाई अङ्कुरित गराउने काम नेताको हो । हरेकमा स्वतन्त्रताको चाहना हुन्छ, सोच हुन्छ । दासताबाट मुक्त हुन चाहने सबैको कामना हुन्छ । हरेक मान्छेको जुन स्वतन्त्रताको चाहना छ, दासताबाट उन्मुक्तिको चाहना छ, समानताको जुन चाहना छ सच्चा कम्युनिस्ट नेताको काम त्यसलाई अङ्कुरित गर्ने हो । तर, यहाँ विचारको नाममा बन्देज लगाउने कार्य गरिन्छ । सबैभन्दा अचम्म लाग्दो कुरा के हो भने वर्तमान सन्दर्भमा ठूला–ठूला कम्युनिस्ट नेताहरु नै आफ्नो दम्भका कारण अन्धो हुनुभएको छ । उहाँहरूको आँखा अरुले खोली दिनुपर्ने स्थिति आएको छ । कान सुन्ने बनाउनुपर्ने स्थिति आएको छ ।
यति दम्भ बढेको छ, कि त्यो दम्भ कहाँबाट आएको छ भन्ने खोज्न मुस्किल भैसकेको छ । एउटा सच्चा कम्युनिस्टमा, एउटा सच्चा क्रान्तिकारीको मनमा साँचो सम्मान सहितको सर्वहारा बर्गप्रति गरिएको जुन वाचा हुनु पथ्र्याे त्यो हराएको स्थिति छ ।
मान्छे लड्छ, क्रान्ती भन्छ, हतियार उठाउछ, मार्छ, मर्छ (भन्छ म मार्क्सवादी) । मुक्तीको कुरा गर्छ, सपना देख्छ, देखाउँछ, ब्युँझिन्छ, झल्याँस्स हुन्छ । सुन्छ तर देख्दैन । बुझ्छ । तर, महसुस गर्दैन । पढ्छ, पढाउँछ तर कहिल्यै व्यबहारमा देख्न पाउदैन । त्यस्तै अभागी मनुवाहरुको हुलमा हेर्यो, कतै मार्क्सवाद देखिदैन । सुन्दा छ । देख्दा छैन । अब कसरी बनाउने ? के गर्नुपर्ने ? उत्तर आउँछ (यो देखिने हुन्छ तर हुन हुन लाग्ने परिस्थिति बनेपछि पुन: हराईदिन्छ र सुनिने बन्छ । मार्क्सवादले आफैले आफैलाइ प्रयोग त गर्दैन । यो सुत्रलाई तिनै मनुवाहरुले हो प्रयोग गर्ने । बिडम्बना नेपाली सन्दर्भमा चाहि ती सुनिने मार्क्सवादीहरु सत्तामा पुगेपछि बहिरा हुने रहेछन् । कहिल्यै बूढो नहुने मार्क्सका चेलाहरु सत्ताको कुर्सीमा बसेपछि लल्याक्लुलुक हुँदा रहेछन् । टाउको दुख्ने, घाँटी सुक्ने, तिघ्रा गल्ने, जिब्रो थल्बलाउने, नेत्र बल्ने, के–के–के ?
अब नेपाली सन्दर्भको मार्क्सवादी चिन्तन कस्तो हुनुपर्छ भनेर खोज्ने बेला आएको छ । मौलिकता के हुने ? यसको प्रयोग कसरी गर्ने ? यसलाई कसरी जोगाउने भन्नेबारे बहस गर्नु आवश्यक भैसकेको छ । हाम्रो जीवनमा दुई प्रमुख कुरा हुन्छन् । उद्देश्य र आवश्यकता । उद्देश्यको पछि लाग्दा आवश्यकता पूरा हुँदैन आवश्यकताको पछि लाग्दा उद्देश्य पूरा हँुदैन । हाम्रो राजनीति आवश्यकतामा आधारित छ । आखिर मानिस र समाज भौतिक रुपमा जति सम्पन्न भएपनि लड्ने भोक र रोगसँग नै हो । खानाको आश र मर्नको त्रास सदैब रहन्छ ।
त्यसैले केन्द्रदेखि गाउसम्म मार्क्सवादीहरुको सत्ता हुँदा पनि अब आबश्यकतालाई परिभाषित गर्ने र माटो सुहाउँदो तरिकाले प्रयोग नगर्ने हो भने कहिले गर्ने ? अब हामीलाई सुनिने होइन देखिने मार्क्स चाहिएको छ ।