भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय हितमा केन्द्रित


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २०, २०८०

  • भीष्मराज ओझा

    काठमाडौँ, २० पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ ।

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उहाँ बिहीबार नेपाल आउनुभएको हो । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र-समझदारीपत्रको आदानप्रदान भएको थियो ।

    बैठकमा सन् २०२१ को जनवरीमा सम्पन्न भारत-नेपाल संयुक्त आयोगका छैटाँै बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको प्रशंसा गरिएको थियो ।

    बैठकमा नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच नयाँ सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीमा रु पाँच करोडबाट बढाएर रु २० करोड पु¥याइएको छ ।

    त्यस्तै दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअन्तर्गत आगामी दश वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको परिमाण १० हजार मेगावाटसम्म पु¥याइने छ । यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरु अपनाउनेमा दुवै पक्ष सहमत भएका छन् ।

    यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ । नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ ।

    भारतको एनटिपिसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । यस समझदारीपत्रले एनटिपिसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ ।

    सोही अवसरमा दुवै विदेशमन्त्रीले रक्सौल–परवानीपुर प्रसारण लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा एक सय ३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

    त्यस्तै, दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौँ चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसका लागि दुई सय प्रिफ्याब घरहरु, एक हजार दुई सय ब्ल्याङ्केट, एक सय ५० वटा त्रिपाल र दुई हजार स्लिपिङ ब्याग छन् । दुई सयवटा प्रिफ्याब घरमध्ये २० वटा घर कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने बाँकी घर आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने छन् ।

    साथै, जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकारले करिब रु १० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गर्नुभएको थियो । त्यसमध्ये ठूलो हिस्सा अनुदान सहायताअन्तर्गत रहनेछ ।

    भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छुट्टाछट्टै भेटवार्ता गर्नुभएको थियो । विदेशमन्त्री डा जयशङ्कर र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच पनि भेटवार्ता भएको थियो ।

    सबै भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको नेपालस्थित भारतीय दूतवासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री डा जयशङ्करको सम्मानमा हिजो रात्रिभोजको पनि आयोजना गर्नुभएको थियो ।

    भ्रमणको दोस्रो दिन दुवै विदेशमन्त्रीले भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवनसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनःनिर्माण परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

    भ्रमणका क्रममा विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुभएको थियो । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार