 
                            भूमिराज पिठातोली
शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो । बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए ।
बाटोमा बाघबाट सतर्क रहन धनबहादुर सबैलाई सल्लाह दिँदै हुनुहुन्थ्यो । वन पुगेपछि सबै जना वरपर आ–आफ्नो दाउरा भारी बनाउन लागे । अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई खोल्सामा लुकेको बाघले झम्टियो । गाउँलेहरू चिच्याउँदै रित्तै घर फर्किए । यो घटना करिब दुई वर्षअघि राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरी बाँकेको हो । वन–वन्यजन्तुबारे अनुभवी धनबहादुरसँग जङ्गल जाँदा डर नहुने भन्दै सँगै गएका महिलाले फर्किएर प्रहरीलाई खबर गरे ।
सुरक्षाकर्मीसहित स्थानीयले जङ्गलमा खोजतलास गर्दा दुई घण्टापछि धनबहादुरको आधा शव फेला प¥यो । “धेरै पटक वन एक्लै पनि जानुहुन्थ्यो”, राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्षसमेत रहेकी छिमेकी गङ्गाकुमारी चन्दले भन्नुभयो, “वन जाँदा हामी सबैले उहाँकै भरोसा गथ्र्यौं । गत वर्ष दुःखद् घटना भयो ।”
शनिबार समितिले दाउराका लागि खुला गरे पनि साताअघि नै बाघको पाइला देखेकाले कसैलाई जङ्गल नजानु भनेको वनरक्षक अजोध्याप्रसाद थारू सम्झनुहुन्छ । “त्यो दिन बिहानै वनमा बाघको पाइला देखेको थिएँ । कसैलाई वन नजानु भनेर म अर्कोतिर गएँ । उता गाउँलेहरू सबै जङ्गल पसेछन् । पछि त्यस्तो घटना सुनियो”, थारूले भन्नुभयो ।
घरमुली नै बाघको सिकार भएपछि धनबहादुरको परिवार टुहुरो बन्यो । “परिवारमा अहिले पनि धेरै छौँ । तर ससुराबुबा नहुँदा टुहुराजस्तै भएका छौँ”, बुहारी शोभा चलाउनेले भन्नुभयो, “घरमुली भनेको घरको पिल्लरजस्तै रहेछ । पिल्लर भाँचिएको घरको अवस्थाजस्तै भएको छ ।” शोभाका अनुुसार धनबहादुरको जेठो छोरा तिलकरामको सशस्त्र माओवादी द्वन्द्वमा ज्यान गएपछि लामो समय परिवार विक्षिप्त बनेको थियो । “बुबा (ससुरा) ले दाइ (जेठाजू) को हत्या भएपछि परिवारमा कहिल्यै सुख मिलेन । तिमीहरूको बिहेपछि अलि खुसी मिलेको छ भन्नुहुन्थ्यो । त्यो खुसी उहाँले धेरै साट्न पाउनुभएन”, उहाँ टोलाउनुहुन्छ ।
राप्तीसोनारीमा धनबहादुरको मात्रै होइन । त्यो समयको आसपास एउटै बाघले पाँच जनाको सिकार ग¥यो । घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, वडा नम्बर ६ कै चाँदनी थारु, वडा नम्बर ७ झगडियाका वकिल गद्दीसहित एक भारतीय नागरिकको ज्यान लिएको थियो ।
शनिबारकै दिन वन खुलाउने हुँदा चौकीदारले सतर्क रहन सबै समुदायमा माइकिङ गर्दा पनि घटना दोहोरिएको स्थानीय कृष्णबहादुर चौधरी बताउनुहुन्छ । चौधरीका अनुसार २९ वर्षीया चाँदनी थारुको पनि शनिबारकै दिन सदाबहार सामुदायिक वनभित्र दाउरा काट्दा बाघले आक्रमण गरेको थियो । जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने ठाउँमा लीला विष्टले बाघको सिकार हुनुपरेको उहाँले सुनाउनुभयो । करिब पाँच किलोमिटर टाढा पर्ने सामुदायिक वनबाट बाघ आएर डाँडाटेपरीमा पशु चौपायाको समेत सिकार गर्ने गरेको चौधरीले बताउनुभयो ।
नरभक्षी बाघ नियन्त्रणमा लिन वन कार्यालयलाई भने दुई साता नै लागेको थियो । राप्ती सव–डिभिजन वन कार्यालय मेहनामपुरका वनरक्षक खडकपाली धितालले भन्नुभयो, “बाघ नियन्त्रणका लागि चितवनबाट टिम आएको थियो । जिल्ला वनको टिम, सुरक्षाकर्मीसहित स्थानीयहरू मिलेर खोज्दा कतै भेटिएन ।”
घटना भएको ठाउँमा बाघको आहारा राख्दा पनि नभेटिएपछि भैँसीको पाडो जङ्गलमा बाँधेको उहाँ सम्झिनुहुन्छ । दुई सातापछि हात्तीमा चढेर जङ्गल जाँदा भेटिएको र बेहोस बनाउने सुईसहितको गोली हानेपछि नियन्त्रणमा लिएको धितालले बताउनुभयो ।
अहिले उक्त नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जको इनक्लोजर (कठघरा) मा राखिएको छ । “मेरो जागिरे उमेरको २५ वर्षसम्म पनि नजिकबाट बाघ देखेको थिइन । त्यो बेलामा भने राम्ररी देख्न पाइयो”, उहाँ भन्नुहुन्छ । बाघले मान्छेको सिकार खोज्नुको कारण भने बाघहरू बीचकै द्वन्द्व भएको रेन्जर जयानन्द आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “भाले बाघहरूबीच द्वन्द्व हुँदा जित्ने बाघले पोथीसँग गएर आफ्नो इलाका बनाउने र हार्नेले नयाँ इलाकाको खोजी गर्दा बस्ती नजिकसमेत पुग्ने गर्छन् । त्यहाँ पुगेपछि बाघले आहाराका लागि मान्छेलाई समेत आक्रमण गर्ने गर्छ ।”
रेञ्जर आचार्यका अनुसार मारेको सिकार एकपटक खाएर घुम्ने र फेरि खानका लागि त्यहीँ ठाउँमा आउने बाघको विशेषता हो । दोस्रो पटक आउँदा बाघले आफ्नो सिकार नपाएपछि नयाँ सिकारको खोजी गर्ने उहाँले बताउनुभयो । “अन्य प्राणीको र मान्छेको मासु धेरै फरक हुन्छ,” आचार्यले भन्नुभयो, “बाघले मान्छेको मासु खान सुरू गरेपछि उसको बानी परिसकेको हुन्छ । त्यसपछि उसले मान्छेकै सिकार खोज्छ ।”
यो नरभक्षी बाघलाई नियन्त्रणमा लिएपछि भने राप्तीसोनारी शान्त छ । राप्तीपीडित वन उपभोक्ता समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले भन्नुभयो, “राप्तीसोनारीमा लगातार घटना भएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । अहिले मान्छेहरू पनि सचेत भएका छन् । वन जाँदा समूहमा जान्छन् । त्यसपछि घटना भएको छैन ।”
बाघको आक्रमणको घटनापछि सरकारले पीडित परिवारलाई रु १० लाखका दरले राहत दियो । वन उपभोक्ता समिति र वडा कार्यालयले पनि रु एक लाख सहयोग गरेको शोभा चलाउने बताउनुहुन्छ । “सरकारले दिएको राहत रकमले अहिले बालबालिका पढाउने, घर खर्च चलाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।
जङ्गल जाने काम भने बुबाको मृत्युपछि अन्तिमजस्तै भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “बुबाको घटनापछि जङ्गल गएका छैनौँ । फेरि दोहोरिन सक्छ भन्ने डर लाग्छ । छिमेकीहरू जान्छन्, हाम्रो घरबाट पनि आजसम्म जङ्गल गएका छैनौँ”, जैविक विविधता संरक्षणमा भने आफ्नो तर्फबाट भरपुर सहयोग गरिरहेको उहाँले बताउनुभयो । “घटना हुँदैमा वनको माया मार्नु पनि भएन । वनजङ्गल र वन्यजन्तु त हाम्रा गहना हुन् नी । जङ्गलै सकियो, वन्यजन्तु नै सकियो भने त हाम्रो अस्तित्व पनि सकिन्छ”, उहाँले भन्नुभयो ।
पछिल्लो दुई वर्षयता भने स्थानीय जङ्गल जाँदा समूहमा जाने र समूहमै फर्किने गरेको वनरक्षक शङ्करप्रसाद जैसीले बताउनुभयो । “पहिले स्थानीयहरू जति बेला पनि घाँस दाउराका लागि वन जान्थे”, उहाँले भन्नुभयो, “त्यसै क्रममा लगातार मान्छेहरु नरभक्षी बाघको सिकार भए । अहिले वन खुलेको बेलामा पनि समूहमै जान्छन्, ठूलो स्वरले कराउँछन् र भारी बनाएर सुरक्षित घर फर्किन्छन् ।”
वनरक्षक जैसीका अनुसार स्थानीयहरू आफू सुरक्षित रहने र वन जङ्गलको पनि सुरक्षा गर्ने सोचका साथ अघि बढेका छन् । जैसीले भन्नुभयो, “अहिले स्थानीयले वन्यजन्तु र मानवको सहअस्तित्वको बारेमा पनि बुझिसक्नुभएको छ । त्यसैले जङ्गल आफ्नो गहना भन्दै संरक्षणमा जुट्नुभएको छ”, उहाँका अनुसार पहिले पहिले जङ्गली जनावर देख्दा तिनलाई मारिहाल्नुपर्छ भन्ने ठान्थे मानिस तर अहिले त्यस्तो छैन । जसरी वन हाम्रो सहारा हो मास्ने होइन, जोगाउनुपर्छ भन्नेबारेमा मानिसमा चेतना आएको छ, त्यसैगरी वन्यजन्तु पनि मानिसका सत्रु होइनन् साथी हुन् भन्ने चेतनामा मानिसमा देखिएको छ ।
डाँडाटेपरीवासी बाघको आक्रमणबाट मात्रै होइन, अन्य जङ्गली जनावरबाट पनि पीडित छन् । कृषकको बालीनाली क्षतिको राहत नपाएको उहाँहरूको गुनासो छ । स्थानीय छवि बुढाथोकीले भन्नुभयो, “लगाएको खेतीबाट सुक्को पनि नपाउने अवस्था भइसक्यो । नीलगाईले रातभर खेती नोक्सान गरेर बारीमा जानै मन लाग्दैन ।”
बुढाथोकीका अनुसार खेताला लगाएर हुर्काएको खेती हेर्न जाँदा रुन मन लाग्छ । “दिनभर जोगाएको बाली राति पूरै नष्ट गरिदिएको हुन्छ ।” बँदेलले पनि उत्तिकै दुःख दिने गरेको उहाँले बताउनुभयो । सरकारले वनको छेउमा घेरबाट गरिदिए आफ्नो बाली बच्ने उहाँ बताउनुहुन्छ । “सरकारले बाली नोक्सान गरेका पीडितलाई राहत दिने भनेको छ । तर, कहिले हो थाहा छैन”, बुढाथोकी भन्नुहुन्छ, “राहत पनि लालपुर्जा भएकालाई दिने र ऐलानी जमिनमा खेती गरेकालाई नदिने भनेको छ । यहाँ धेरैले ऐलानीमै खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । सरकारले बुझिदिए हुन्थ्यो ।”
यता राप्तीसोनारी गाउँपालिका–६ का अध्यक्ष नवराज खरेल जङ्गली जनावरबाट पीडित किसानलाई ढिला भए पनि राहत उपलब्ध गराउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पीडित कृषकलाई वन कार्यालयसँगको सहकार्यमा राहत उपलब्ध गराउँनेछौँ”, ऐलानी जमिनमा भने मापदण्ड नै नभएको हुँदा राहत दिन नसकिने उहाँले बताउनुभयो ।
कृषकको राहतका लागि अन्य पालिकाले पशु तथा कृषि बीमा गरेजस्तै राप्तीसोनारीले पनि बिमाको योजना ल्याउने तयारी गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष खरेलका अनुसार वडाले बाघ पीडित परिवारका एक जना विद्यार्थीलाई थप राहत दिने भएको छ । राहतस्वरूप वार्षिक रु पाँच हजारका दरले शैक्षिक सामग्री किन्न छात्रवृत्ति दिने निर्णय गरेको उहाँले सुनाउनुभयो ।
राप्तीसोनारी गाउँपालिकासँगै जोडिएको छ, पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज । राष्ट्रिय निकुञ्जको नजरमा वन मास्दाको परिणाम वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको हो । मांसाहारी जनावरलाई पर्याप्त सिकार नहुनु, डढेलो लगाउनु, जताततै डोजर लगाउँदा पानीका मुहान सुक्नु, अन्य जनावरलाई पनि पर्याप्त घाँस नहुनुजस्ता कारणले वन्यजन्तु बस्ती नजिक जाने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुुुसार अहिले रहेका सबै जनावरका लागि जङ्गल पर्याप्त छ । तर, आहाराका लागि नपुगेर जनावर बस्ती पुग्दा घरपालुवा चौपाया खाने, मान्छेमाथि आक्रमण गर्ने, खेतीबाली नष्ट गर्ने गरेका छन् ।” यसमा सबै निकायले वन वन्यजन्तु जोगाउनेप्रति लागेमा यस्ता घटना न्यूनीकरण हुने उहाँले बताउनुभयो ।
साहका अनुसार बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविकमार्ग मानिएको छ । “बस्ती नजिकै जैविकमार्ग र सामुदायिक वन भएको हुँदा बाघ र मान्छेको जम्काभेट हुने सम्भावना हुन्छ । त्यो बेलामा आफू सुरक्षित हुन बाघले आक्रमण गर्ने गरेको देखिन्छ”, उहाँले भन्नुभयो ।
सामान्यतया बाघले मान्छेमाथि त्यतिकै आक्रमण गर्दैन । घाइते, अशक्त तथा आहारा खोज्न नसक्ने अवस्थाको बाघले मान्छेमाथि आक्रमण गर्न सक्छ । त्यस्तै आफ्नो बच्चासँग रहेका बेला तथा मानिससँग अचानक जम्काभेट भयो भनेमात्र उसले आफूलाई असुरक्षित महसुस गरेर बाघले आक्रमण गर्न सक्ने उहाँले बताउनुभयो । तर मानिस पनि अहिले सचेत भएका छन् र यसबाट बच्ने धेरै तरिका पनि थाहा पाएका छन् । वनलाई सहाराजस्तै वन्यजन्तुलाई पनि आफ्ना साथी ठान्ने गरेका छन् ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    