नदी कटानका कारण टीकापुरमा जोखिम बढ्यो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • टीकापुर, १५ भदौ । नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो ।

    नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कटान शुरु गरेको छ । ‘कटान तीव्ररुपमा भइरहेको छ । नदीले बहाव बदल्ने देखिन्छ’, स्थानीय झपट सोडारीले भने, ‘यसलाई नियन्त्रण नगरे बस्तीमा क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे टीकापुर २, ७, ८ सखाप हुने देखिन्छ । हजारौँ घर डुबानमा पर्नेछन् ।’

    सोडारीका अनुसार यस वर्ष नै निर्माण गरिएको तटबन्ध कमजोर रहेकाले नदी कटान बढेको हो । नदीले कटान तीव्र पार्दा नदी बस्तीमा फर्किने अवस्था आएको उनको भनाइ छ । उनी भन्छन् ‘नदीलाई तत्काल नियन्त्रणको प्रयास नभए बस्ती सखाप हुन्छ ।’ नदी कटानले करिब १०० मिटर तटबन्ध बगेर जाने अवस्थामा पुगेको छ । तटबन्ध बगे कर्णालीको पानी नगरक्षेत्र पस्ने जोखिम रहेको छ । नदीले कटान गरिरहेको क्षेत्रलाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, सिँचाइ आयोजनाका प्रतिनिधि, प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ ।

    ‘नदी कटानका कारण बस्ती जोखिम पर्ने देखिएको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा विपद् समितिको बैठक बसी तत्कालका लागि जैविक तटबन्ध गर्ने निर्णय भएको छ’, नगर प्रमुख रावलले भने, ‘नदीमा पानीको बहाव घट्न थालेपछि कटान बढेको छ । नदी कटान नरोके वडा नं २ पूरै उच्च जोखिममा पर्नेछ ।’

    विपद् समितिले तत्काल जैविक तटबन्धका लागि नदी नियन्त्रण एकल प्रयासबाट मात्र सम्भव नभएकाले सशस्त्र र जनपद प्रहरीको सहयोग लिने निर्णय गरेको छ । नदीमा आजैबाट नियन्त्रणको प्रयास शुरु गरिने भएको छ । यसका साथै नदी नियन्त्रणका लागि थप व्यवस्था गर्न जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई गुहार गर्ने निर्णय गरी जिल्लालाई अनुरोध गरेको नगर प्रमुख रावलले बताए । ‘हामी एक्लैले नियन्त्रण सम्भव छैन, जिल्लालाई पहल गर्नका लागि अनुरोध गरेका छौँ’, उनी भन्छन्, ‘तत्काल सिँचाइ र नगरपालिकाले मिलेर स्थानीय, सशस्त्र प्रहरी र जनपद प्रहरीको सहयोग लिएर स्थानीय स्रोतको प्रयोग गरी नियन्त्रणको प्रयास गर्छौैं ।’

    कर्णाली नदीको कटानले टीकापुर–५ स्थित टीकापुर पार्क क्षेत्रमा बनेको तटबन्धको माटोसमेत बगाउन थालेको छ । त्यहाँ पनि कटानको जोखिम रहेकाले यहाँ थप त्रास सिर्जना भएको छ । पार्क क्षेत्रमा तटबन्ध भत्किए टीकापुर पार्क तहसनहस हुनेछ । ‘पार्क किनारमा रहेको कर्णाली नदीको तटबन्ध भत्किए टीकापुर–५, ७, ८ वडामा डुबान र कटान हुनेछ’, स्थानीय बडघर धर्मराज जैसीले भने, ‘सिँचाइले नदी नियन्त्रणको काम निरन्तर गर्न आवश्यक छ ।’

     

    बर्दियाको राजापुर नगरपालिका पनि जोखिममा

    कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीले बर्दियाको राजापुर नगरपालिका–१ चनौरा, टिउनी, वडा नं ३ को तिघरामा कटान तीव्र पारेको छ । नदीले कटान तीव्र पारेपछि स्थानीयवासीले जैविक तटबन्ध गर्न थालेका छन् ।

    कर्णाली नदीमा पानीको बहाव बढ्दा बर्दियातर्फ बग्न थालेपछि राजापुर नगरपालिकाको वडा नं १ र ३ जोखिममा परेको हो । वडा नं १ मा नदी नियन्त्रण गर्न नसके दौलतपुर, चनौरा र टिउनीका हजारौँ घर डुबान र कटानमा पर्नेछन् । साथै वडा नं ३ को तिघराका सयौँ परिवार विस्थापित हुने अवस्था आउनेछ ।

    बर्दियातर्फ कर्णाली वन व्यवस्थापन आयोजनाको सहयोगमा नदी नियन्त्रणको काम भइरहेको छ । आयोजनाले बर्दियातर्फ तटबन्ध कार्य गरिरहेको छ । ‘कर्णालीको पानी बर्दियातर्फ बग्दा आयोजनाले बनाएको तटबन्ध भत्कने जोखिम बढेको छ’, दौलतपुरका लोकराज ढुङ्गानाले भने, ‘नदीले वडा नं ३ मा पाँच बिघा जग्गा कटान गरिसकेको छ भने वडा नं १ मा कर्णाली नदी व्यवस्थापन आयोजनाले बनाएको बाँध भत्कने जोखिम बढेको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार