कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : मुख्यमन्त्री पौडेल


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २०, २०७७

  • वाग्मती, २० भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताए । कृषि उद्यमको अनुगमनका क्रममा आज हेटौँडाका विभिन्न क्षेत्र पुग्नुभएका उनले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताए ।

    उनले उद्योग, व्यापार व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन रु तीन अर्बको कोषको निर्माण गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिए ।

    पौडेलले यो कोषमार्फत उद्यमशीता प्रवद्र्धन गर्न चाहने तथा उत्पादनमा काम गर्न चाहनेले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्राप्त गर्ने बताए । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेल हेटौँडा उपमहानगरपालिका– ७ मा रहेको वनदेवी कृषि उद्यमी समूह, सूर्योदय बहुउद्देश्य कृषक समूहलगायत कृषि फार्म पुगेका थिए । कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहयोगमा सञ्चालित दुई कृषि फार्ममा मात्रै ४० जना कृषक आबद्ध रहेको हेटौँडा– ७ का वडाध्यक्ष राजन थापाले जानकारी दिए ।

    कृषिउपजमा प्रदेशलाई आफ्नै कार्यकालमा आत्मनिर्भर बनाउन लागि परेका मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सरकारमार्फत अनुदान प्राप्त गरी सञ्चालन भएका कृषि उद्यमको नियमितरुपमा अनुगमन गर्दै आएका छन् । प्रायः कार्यालय बिदाको दिन कृषि केन्द्र पुग्नुहुने मुख्यमन्त्री पौडेल मकवानपुरका अधिकांश कृषि केन्द्र पुगिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार