कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज १, २०७७

  • धादिङ, ३१ भदौ । मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्य धादिङस्थित साङकोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन गरेका छन् । उनले बन्दाबन्दीको समयमै बोइलर कुखुरा पालेर आम्दानी गर्दै आएका हुन् । कुनै बेला उनी विदेश जान चाहेका थिए ।

    ‘पहिला पनि विदेश बसेर काम गरेको अनुभव थियो । यस वर्ष पनि विदेश जानका लागि पासपोर्ट भिसा तयारी गरेका थिए । जब विदेश जाने समय आयो मुलुकमा जारी बन्दाबन्दीका कारण जान पाइएन’ उनले भने । कतारमा उनले सेक्युरिटी गार्डको काम पाएका थिए । विदेशमा सेक्युुरिटी गार्डको काम गरेर आम्दानी गर्ने योजना हुँदाहुँदै पनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण जारी बन्दाबन्दीले त्यसतर्फ जान पाइएन ।’  विदेश जान नपाएपछि आफ्नै जग्गामा व्यवसायिक रुपमा कुखुरापालन व्यवसाय गरेका लेकबहादुर बन्दाबन्दीको अबधिमा रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल भएका हुन् ।

    थोरै लगानी र छिटै आम्दानी लिन सकिने कुखुरापालन व्यवसाय रोजेर काम गर्दा फाइदा पुग्ने थाहा पाएर आफूले यो व्यवसाय रोजेको उनको भनाइ छ । छ सय बोइलर कुखुरा पालेर रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल भएका लेकबहादुरले आफूलाई यही पेसाले काम र आम्दानी दुवै दिएको बताए ।

    विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर बढी आम्दानी हुने भएपछि लेकबहादुरले अब विदेश जाने सोचाइ छाडेर यही व्यवसायमा रमाउने बताए । विदेशमा गरिने कमाइभन्दा घरमै बसेर गरिएको मेहनतको आम्दानीले आफूलाई सन्तुष्टी दिएको उहाँको भनाइ छ । लेकबहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोरोना महामारी ९ कोभिड–१९० ले सिर्जना गरेको बरोजगारीले धादिङलगायत मुलुकका अन्य क्षेत्रका युवाका लागि स्वदेशमा नै व्यवसाय गर्ने अवसर प्राप्त भएको छ ।

    यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने देखिन्छ । हजारौं लेकबहादुरले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै पनि नेपालीलाई विदेश जानु पर्दैन, स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार