हिमचितुवा आङरिता शेर्पाको निधन, राजा वीरेन्द्रसंगको त्यो अविस्मरणिय क्षण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ५, २०७७

  • विनाअक्सिजन १० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’ को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

    उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।

    आङरिताको आरोहण यात्रा

    सन् १९४८ मा जन्मिएका आङरिताको पुख्र्यौली पेशा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

    आरोहणका क्रममै रहेका आङ्रिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उहाँ बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा ९वीरेन्द्र० ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।

    त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ँदरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

    दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।

    यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङ्रिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै संलग्न थिए । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी चराउने काम गर्छन् । आङरिता छोरी डोमासंग जोरपाटीमा बस्दै आएका थिए । सात वर्षअघि उनको पत्नीको निधन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार