प्रभु जिरेल, चरीकोट, ५ कातिक । हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री सतहदेखि ८९१ मिटरदेखि ७,१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गदै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याई गाउँपालिकाले गौरीशङ्कर संरक्षण क्षेत्रसँग सहकार्य आरम्भ गरेको छ ।
पर्यटनको प्रर्वद्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकन भ्रमणका क्रममा र गाउँपालिका ५ चङ्खुको लुवाङसादेखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको छ ।
चङ्खुको शेर्पा समुदायको होमस्टे र लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित शुरु भएको यात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो । यस क्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण र शीरमा रहेको गौरीशङ्कर हिमालले यात्रीलाई आनन्द तुल्याएको थियो ।
पेम्दिङमा बास वसेर विहान सवेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ । धुपिनी डाँडामा विबहानको खाना खाएर पुन यात्रा गर्न सकिन्छ । करिव २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४२७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ । बुकिनी अत्यन्त सुन्दर देख्न सकिन्छ । बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौरी पाल्ने देख्न सकिन्छ ।
हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ । खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु र जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेको पाइन्छ । यहाँबाट १ घण्टामा ४४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।
कालोपोखरी/भुतपोखरी
समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताए । जम्मा ४४७३ मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्त आकर्षक छ । जट्टापोखरी पाँचपोखरी क्षेत्रमा दर्शन गरी पुन: वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट गौरीशङ्कर गाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ ।