मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक ७, २०७७

  • गण्डकी, ७ कात्तिक । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ । कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

    प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी (फूलपाती) का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ । यसरी फूलपाती भित्र्याउँदा समाज एवम् राष्ट्रको कल्याण हुने जनविश्वास छ ।

    देशका अन्य प्रमुख शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी धूमधामका साथ फूलपाती, महाष्टमी, कालरात्रि र महानवमीमा विशेष पूजाआजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहेको अध्यक्ष महतले जानकारी दिए ।

    मन्दिरमा मगर पुजारीले सरसफाइ एवम् अन्य नियमित पूजाआजा तथा ब्राम्हण पुजारीले सप्तशती पाठ गर्छन् । कोरोना महामारीको विद्यमान अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष भने सामान्य रुपमा ऐतिहासिक परम्परालाई निरन्तरता मात्रै दिइएको बताउँदै उहाँले बाह्य रुपमा आउने दर्शनार्थीका लागि भने पूजाआजामा रोक लगाइएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार