 
                            मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सहसंयोजक सीता पौडेलले नवगठिन समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई सपथ गराउनुभएको थियो ।
नेत्री पौडेलले सरकारले गरेका राम्रा कामलाई जनसमक्ष पुर्याउनुपर्नेमा जोड दिँदै पार्टीका गतिविधि सुस्त भइरहेको बेला फाउण्डेशन जनतासमक्ष पुग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी (पार्वती) रावल थापालगायतले समितिलाई शुभकामना दिनुभएको थियो ।
फाउण्डेशनका जिल्ला अध्यक्ष डा। तिलचन्द्र भट्टराईले पूर्वी चितवनका राप्ती र खैरहनी नगर समिति यस अघि नै गठन भइसकेको जानकारी दिंदै जिल्लाका अन्य पालिका र क्षेत्रमा पनि छिट्टै गठन गर्ने तयारी भएको जानकारी दिनुभयो । तत्कालीन नेकपा (एमाले) का महासचिव एवं जननेता मदनकुमार भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनाबाट निधन भएपछि उहाँको स्मृतिमा फाउण्डेशनको स्थापना भएको हो ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    