 
                            
लमजुङ, साउन १५ । ‘मिस क्वीन लमजुङ–२०१८’ को ताज बेसीसहरकी मोनिका गुरुङले पहिरिएकी छन् । ‘ग्रान्ड’ फिनालेमा सातजना प्रतिष्पर्धीलाई उछिन्दै उनी सर्वोत्कृष्ट बनेकी हुन् । उनले मिस क्वीनको ताजसंगै नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाइन् । उनीले मोस्ट ब्यूटीफुल उपाधि प्राप्त गरिन् । शनिबार बेंसीसहरमा आयोजित उक्त प्रतियोगितामा मोनिकालाई गण्डकी प्रदेशका सांसद मधुमाया अधिकारीले ताज पहिर्याउँदै पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिन् । प्रतियोगितामा बेसीसहरकी सारा लामा (तामाङ) फस्ट रनरअप र बेंसीसहरकै मोनिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए ।
तामाङले मिस क्याटवाकको उपाधि पाइन् । श्रेष्ठले बेस्ट फिगरको उपाधि पाइन् । उनीहरुले क्रमश: नगद १५ र १० हजार रुपैयाँ, ताज, मेडल र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट ५ मा सुमिना श्रेष्ठ र सिमरन श्रेष्ठ परे । सिमरनले मिस पपुलर, वेस्ट स्माइलको उपाधि संगै अर्गनाईजर च्वाइसको ताज पहिरिइन् । सुमिनाले मोस्ट डिसिपिलिनको ताज पहिरिइन् । मोस्ट ट्यालेन्ट र मोस्ट फ्रेन्डली शर्मिला परियार, बेस्ट स्कीन पुनम लामा, बेस्ट स्माइल र मिस पपुलर सिमरन श्रेष्ठ, मिस फोटोजेनिक र मोस्ट फ्र्याङ्क सलिना पराजुली घोषित भए । प्रतियोगिताका विजयीलाई सांसद अधिकारीसंगै म्यान अफ दि वल्र्ड २०१७ का विजेता डा.रामचन्द ठकुरी, मोडल रोजी श्रेष्ठ, कोरियोग्राफर विशाल आलेमगर, मिसेस लमजुङ २०१७ की विजेता शोभा शाही, लिटिल मिस लमजुङ २०१५ की विजेता कृति गौतम लगायतले पुरस्कार प्रदान गरे ।
प्रदेश सांसद अधिकारीले महिलामा नेतृत्व क्षमता वृद्धि हुँदै गएकाले राज्यका हरेक तहमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गएको बताइन् । ‘महिलाले हिंसा, घृणा र तिरस्कार भोग्नु परेको छ । यसको अन्त्यका लागि सुरक्षित र सम्मानित वातावरणको सिर्जना चाहिन्छ’ उनले भनिन् । बेंसीसहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारीले बेलाबखत भइरहने क्षमता र प्रतिभा बाहिर ल्याउने कार्यक्रमले युवालाई मार्गदर्शन र उत्प्रेरणाको काम गर्ने बताइन् । आयोजक तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता थापामगरले प्रस्फुटन हुन नपाएका क्षमता र प्रतिभाको उजागर गराउने र सक्षम महिलाको खोजी गर्न कार्यक्रमको आयोजना गरेको बताइन् ।



 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    