माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर २१, २०७७

  • भरतपुर, २१ मङ्सिर । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिनुभयो । उहाँले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताउनुभयो । प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ ।

    अन्य दुई घरवास निर्माणको चरणमा छन् । आवश्यकतानुसार क्षमता बढाउँदै लैजाने तयारी गरिएको छ । घरवासको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको अध्यक्ष बोटले जानकारी दिनुभयो । माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा घरवास निर्माण गरिएको हो । शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने कोषाध्यक्ष जगनारायण बोटले बताउनुभयो ।

    घरवासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगरपालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको जानकारी दिँदै उहाँले बोटे, थारूलगायत विभिन्न जातजातिका संस्कृति देखाएर पर्यटकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिनुभयो । धार्मिक क्षेत्र गोद्धकधाम बोटेटोलबाट करिब एक किमी पश्चिममा पर्छ । गोद्धकमा पाँच पाण्डव गुप्तवास बसेको, परशुरामले मातृ हत्याको दोषमुक्त हुन स्नान गरेको कुण्ड, भीमइनार, भीममन्दिर, अष्टभुजाको शिवलिङ्ग, कुकुरनाथ, बिरालोनाथलगायतका ठाउँहरु छन् । रामनवमी, शिवरात्रि, साउने मेलामा गोद्धकमा दर्शानार्थी बढी आउँछन् । सो क्षेत्रमा सामूहिक माछापोखरी पनि छन् ।

    माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले वाल्मीकि आश्रमदेखि गोद्धक क्षेत्र जोड्न सके धेरै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताउनुहुन्छ । “गोद्धक क्षेत्र चिनाउन घरवासले थप सघाउनेछ्”, उहाँले भन्नुभयो, “स्थानीय रहनसहन र संस्कृतिको अवलोकन गर्दै गोद्धक घुम्न पाइनेछ ।” चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बोटेटोल बर्सेनि जङ्गली जनावर र डुबानको समस्या झेल्दै आएको बस्ती हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार