सार्क बडापत्र दिवस मनाइयो


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर २३, २०७७

  • काठमाडौँ, २३ मङ्सिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै आज ३६औँ ‘चार्टर डे’ मनाइएको छ । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । दक्षिण एशियाका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले सार्क स्थापना गरेको दिनको स्मरण गर्दै उक्त दिवस मनाइँदै आएको छ ।

    सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टर पारित गरिएकोे थियो । सोही दिनका स्मरणमा आज बडापत्र दिवस मनाइएको काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ । त्यसलाई अर्को भाषामा सार्क बडापत्र दिवसको रुपमा समेत लिइन्छ । बडापत्रअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रका जनताको हित र उनीहरुको जीवनस्तर सुधार गर्नु हो । इतिहास र संस्कृतिक सम्बन्धमा एकताबद्ध भएका दक्षिण एशियाका आठ देशको साझा मञ्च सार्कले यस क्षेत्रमा शान्ति, स्थायित्व, एकता र प्रगतिलाई प्रवद्र्धन गर्दै आएको छ ।

    सार्क बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै सदस्य राष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीले विशेष सन्देश जारी गर्नुभएको छ । उहाँहरुले सार्कको महत्व र गरिमाको बारेमा स्मरण गर्दै क्षेत्रीय शान्ति र स्थायित्व एवं समानतामा आधारित सम्बन्धलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै सार्कका महासचिव इसाला रुवान विराकुनले बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै एक शुभकामना व्यक्त गर्नुभएको सचिवालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार