धुलोबाट इँटा बनाउँदै कामपा


  • Frontline Nepal

काठमाडौँ, २६ मङ्सिर । काठमाडौँ महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ ।

हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ । कामपाले हरेक दिन सात ब्रुमरले सडक सफा गर्ने काम गरिरहेको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । विसं २०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त ब्रुमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ ।

सोही मार्गअनुरुप काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ । सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक  पनि काम गर्न नमिल्ने अवस्थामा छ ।

उक्त यन्त्रले पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ । दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीच र पछाडि भागका दायाँबायाँ प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्छन् भने अरु सडक विभागको मातहतमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार