हराउँदै ‘डेंहरी’


  • Frontline Nepal

कञ्चनपुर, २७ मङ्सिर । खेतवाट भित्रयाएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा प्रयोग हँुदै आएका कञ्चनपुरका थारु समुदायका डेंहरी(माटोका भकारी) हराउन्दै जान थालेका छन । एक पटक बनाए पछि वर्षौंसम्म प्रयोगमा ल्याउन सकिने भकारी थारु समुदायको पछिल्लो पुस्ताले आधुनिकतालाई आत्मसात् गर्न थालेपछि हराउँदै जान थालेका हुन् । पुरानो पुस्ताले सिकाउनका लागि रुचि नराख्ने र नयाँ पुस्ताले सिक्ने चाहना नराख्दा परम्परागतकालदेखि प्रयोग हुँदै आएका भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको हो ।

डेंहरी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले समेत बनाउने काममा अवरोधसमेत हुँदै आएको थारु समुदायको भनाइ रहेको छ । “परम्परागत घरमा डेंहरीले नै कोठा छुट्टयाउने गरी राखिने गरेको थियो”, बेलडाँडीका कालीप्रसाद चौधरीले भन्नुभयो, “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका डेंहरी बनाउन छाड्दै गएका छन् ।” चिम्टाइलो माटो, धानको पराल र गहुँको भुसको प्रयोग गरी बनाइने परम्परागत भकारी हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसलाई जोगाउनका लागि युवा पुस्तालाई यसबारे पुरानो पुस्ताले सीप हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । “टिन, बाँस, निगालो र प्लाष्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत डेंहरी बनाउने काममा यसको प्रभाव परेको छ”, उहाँले भन्नुभयो, “सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले समेत थारु संस्कृतिसँग जोडिएको डेंहरीलाई बिर्सदै जान थालेका छन् ।”

डेंहरी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उहाँको भनाइ रहेको छ । “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उहाँले भन्नुभयो । डेंहरी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ । “यसमा राखिने अन्न वर्षौंसम्म राख्दासमेत रोग किरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मिीले भन्नुभयो, “ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिगँ्रदैन ।” उहाँका अनुसार हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बूढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ । धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ ।

डेंहरी धेरै प्रकारको हुने गरेको छ । जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् । पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्टयाउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ । पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन छ । पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ । त्यो किलामा झोरर्या(झोली) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धुप राखिएको हुन्छ । डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ ।

कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ । अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नुन, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ । डेंहरी अन्न भण्डारको थारु समुदायको प्रमुख वस्तुमध्येकै मानिन्छ । जवरामा धानको भुस राख्ने गरिन्छ । “डेंहरी राखिएको छ भने टाढैबाट थारु समुदायको घर हो भन्ने ठम्याउन सकिन्छ”, लहानु चौधरीले भन्नुभयो, “बनाउन जान्ने थोरै भएकाले थोरैका घरमा मात्रै अब डेंहरी रहेको छ ।”

रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट