नया लेखकहरुलाई सुबिन भट्टराइले दिए यस्ता टिप्सहरु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३०, २०७७

  • जो आफ्नो पहिलो किताब लेख्दैहुनुहुन्छ….
    मलाई सामाजिक सञ्जालमा दिनहुँजसो एक किसिमको मेसेजहरु आइरहन्छन्- पहिलो किताब “लेखेँ”, “लेख्दैछु”, “लेखिसकेँ” वा “छाप्ने” सोचमा छु, के गरौँ ? मेरो जिमेलमा मात्रै पचासभन्दा बढी पुस्तकका पाण्डुलिपि आएर थुप्रेका छन् । मलाई आफ्नो पाण्डुलिपिको प्रतिक्रिया दिन लायक सम्झिनुलाई (यद्यपि म त्यसको लायक छुइँन) मैले यहाँहरुको मेरोप्रतिको प्रेम र विश्वासका रुपमा लिएको छु ।
    तर यहाँहरुको सबै पाण्डुलिपि पढ्ने मन हुँदा हुँदैपनि लेखनलाई नै पूर्णकालीन पेशा बनाएकाले मसित यहाँहरुको पाण्डुलिपि पढ्ने फुर्सद र समय हुँदैन ।
    तर पुस्तक प्रकाशन गर्नु छ । पाण्डुलिपि कसले हेरिदिने ? पुस्तक कसले छापिदिने ? यो सोचमा धेरै अल्मलिनु भएको छ भने म यहाँहरुलाई यो बताउन चाहन्छु यहाँहरुले पढ्नुभएका धेरै पुस्तकमा अगाडी, पछाडी कतै न कतै प्रकाशकको नाउँ, ठेगाना, इमेल वा फोन नम्बर लेखिएको हुन्छ । त्यही हो सम्पर्क -सूत्र ।
    जसरी लेखकलाई राम्रो प्रकाशक चाहिएको हुन्छ, उसैगरी प्रकाशकलाई पनि राम्रो लेखकको खोजी सधैँ हुन्छ । यहाँहरुले प्रकाशकको ठेगाना, इमेल वा फोनमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ ।
    आफ्नो लेखाइमा दम छ जस्तो लाग्छ भने नआत्तिनुस् । ढिलो चाँडोको कुरा मात्रै हो । पहिलो किताबमा अलिकति संघर्ष, अलिकति रिजेक्सन अलिकति तनाव हुन्छ नै । ती संघर्षका भोली छुट्टै कथा बन्छन् । होइन, आफ्नो लेखाइको स्तरमै अल्मलिनु भएको छ भने, पाण्डुलिपि थन्क्याउनुस्, अझै प्रशस्त पढ्नुस्, पुनर्लखेन गर्नुस् र राम्रो तयारीका साथ आउनुस् ।
    हिजो म आफैँ पनि यो क्षेत्रमा नयाँ थिएँ । आफ्नो पहिलो पुस्तक आफ्नै लगानीले छापेको थिएँ । पुस्तक बिक्री नभएर झोलामा बोकी बोकी हिँडे । सित्तैमा पनि बाँडे । समीक्षाका लागि अनेक ढोका, झ्याल, फाटक ढक्ढक्याएँ । कैयौँ नउठ्ने कलहरु गरेँ । जान हुने ठाउँपनि गएँ । जान नहुने, गर्न नहुने कामहरु पनि गरेँ ।
    तिनका पनि छुट्टै मजा होलान् ।
    र, अबका नव- लेखकहरुलाई पनि यहि भन्छु, लेख्न मजा आउँछ भने लेख्न चाहिँ कहिल्यै नछाड्नुस् । कसैले पाण्डुलिपि पढिदेओस्, नपढिदेओस्, कसैले तपाइँको नमस्ते फर्काओस् नफर्कओस्, कसैले तपाइँको क्षमता चिनोस् कि नचिनोस्, आफ्नो लेखाइलाई चिन्नुस्, आफैँलाई चिन्नुस्, तपाइँ आफ्नो भविष्य आफैँ बनाउन सक्नुहुन्छ ।
    मेरो सधैँ सधैँ शुभकामना ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार