जनअपेक्षानुरूप काम गर्न निर्देशन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस १०, २०७७

  • गण्डकी, १० पुस । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिनुभएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताउनुभयो ।

    सुशासनको प्रत्याभूत हुने गरी काम गर्न आग्रह गर्दै जिसीले वडाले भोग्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने उल्लेख गर्नुभयो । महालेखा परीक्षकको कार्यालय र नेपाल राष्ट्र बैंकले महानगरका वडामा खाता सञ्चालनको अनुमति दिइसकेकाले विगतजस्तो समस्या नहुने उहाँको भनाइ छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने बताउनुभयो । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै उहाँले समस्याको पहिचान गरेर निकास दिने गरी काम गर्ने बताउनुभयो ।

    कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष्य जनताको सेवा नै भएकाले एक भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले विकास जहिले पनि चलायमान हुने भएकाले भोलिका सन्ततिले याद गर्ने किसिमको विकास आजको आवश्यकता भएको औँल्याउनुभयो । बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष र सचिवले चार महिनाको अवधिमा गरेका भौतिक पूर्वाधारका काम बाटोघाटो, बिजुली, खानेपानी, पुलपुलेसा विकास निर्माण आदिबारे अवगत गराएका थिए ।

    कोरोना भाइरस सङ्क्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको र वडाको विकास बजेट अपुग भएको, खाता सञ्चालन नहुँदा उधारोमा धेरै काम गर्नुपरेको उनीहरूको गुनासो छ । विशेषतः गाउँ विकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरूले विकास बजेट थोरै हुनुलगायतका कारण जनअपेक्षानुसार काम हुन नसकेको समस्या सुनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार