डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाइ करोडको क्षति


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस १०, २०७७

  • धनुषा, १० पुस । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो ।

    धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत्को तार सट लागेको आगलागीबाट झण्डै रु दुई करोड ५० लाखको क्षति भएको हो । जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

    धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो । जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् ।

    आगलागी हुँदा समयमै वारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार