महाभारत पढ्नैपर्ने पुस्तक हो – सुजित मैनाली लेखक तथा पत्रकार


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ३, २०७४

  • सुजित मैनाली लेखक तथा पत्रकार हुन् । हालै मात्र लेखक सौरभसँगको सहलेखन उनको गैर्‍ह–आख्यान ‘ब्रेकिङ नेपाल’ प्रकाशित छ । यसअघि उनले भाषण भन्ने पुस्तक सम्पादन गरेका थिए । जसमा संसारका चर्चित राजनेताका भाषणहरु संग्रहित छन् । हाल उनी साउथ एसिया चेक अनलाइनसँग आबद्ध छन् । मैनालीसँग नरेन्द्र रौलेले गरेको कुराकानी :

     

    तपाईको हालै प्रकाशित ‘ब्रेकिङ नेपाल’ पुस्तक के विषयमा केन्द्रित छ ?
    पृथ्वीनारायणले देश निकाला गरेका इशाइ मिसनरी र नेपालका शासकले अप्ठेरो पारेका विदेशी कुटनीतिज्ञहरुले नेपालप्रति पुर्वाग्राही भएर लेखेका किताबहरु अहिले नेपालको समाज विज्ञानका मुल ग्रन्ध बन्न पुगेका छन् । खासगरी पश्चिमी लेखकले ती पुस्तकलाई आधार मानेर नेपाल राज्य र नेपाली समाजको व्याख्या गर्ने गरेका छन् । त्यही भएर पृथ्वीनारायणदेखि अहिलेसम्मका पश्चिमी लेखकका नेपालसम्बन्धी लेखाईमा तथ्य र तर्कमा प्रशश्तै त्रुटी भेटिएका छन् । त्यस्ता त्रुटीहरु पहिचान गर्ने, सच्याउने र पश्चिमी लेखकहरुको ध्येय पत्ता लगाउने प्रयास ब्रेकिङ नेपालमा गरिएको छ ।

     

    यतिबेला के पढ्दै हुनुहुन्छ ?
    कुमार प्रधानको ‘द गोर्खा कंक्वेस्ट’ पढ्दैछु । यसको पछिल्लो संस्करणमा जोन वेल्पटनले भूमिका छ । वेल्प्टनकै ‘लाइफ अफ जंगबहादुर र हिस्ट्री अफ नेपाल’ पनि पढ्दैछु । अहिले खासगरी पश्चिमी लेखकले नेपालबारे लेखेका किताबमा मेरो ध्यान छ । रुची लागेको विषयमा लेखिएका धेरै किताब समानान्तर रुपमा पढ्न मन लाग्छ ।

     

    किताबको संगतमा कसरी आउनुभयो ?
    सानो छँदा हजुरबा मोहनलालले आतंक, रत्नभवन र राक्षसराज्य पुस्तकका तिलस्मी कथा सुनाउनुहुन्थ्यो । रामायण, महाभारत, राजा हरिशचन्द्रका कथा पनि सुनाउनुहुन्थ्यो । किताबसँग म त्यति बेलै जोडिएँ ।

     

    कुन बिधा पढ्न रुचाउनुहुन्छ ?
    रुची समयसँगै बदलिदै जाँदो रहेछ । कुनैबेला कविता मनपथ्र्यो । पछि क्रमश: कथा, उपन्यास, अध्यात्म, अन्र्तराष्ट्रिय सम्बन्ध, अर्थशास्त्रमा ध्यान गयो । अहिले चाहि इतिहास र संस्कृतिमा मेरो रुचि छ ।

     

    पुस्तकको छनौट कसरी गर्नुहुन्छ ?
    कुनै बेला भेटेजति सबै पढिन्थ्यो । पढ्दा घाटा लाग्दैन भन्ने सोच्थें । अहिले बानी फेरिएको छ । अब्बल श्रेणीका पुस्तक मात्र पढ्नुपर्छ भन्ने लाग्छ । सम्बन्धित विषयका ज्ञाताहरुसँग परामर्श लिएर पढ्छु । त्यसो गर्दा समय खेर जाँदैन । चाणक्य नीतिको श्लोक बारम्बार सम्झिन्छु– जीवन एउटा छ, समय सिमित छ, पढ्नुपर्ने असिमित छन्, त्यही भएर छानीछानी पढ ।

     

    पढ्न किन जरुरी छ ?
    पढेको मान्छेले अपराधीलाई मात्र होइन, समाजलाई पनि दोष दिन्छ । पढेपछि कुनै पनि विषयलाई विभिन्न कोणबाट हेर्न क्षमता बढ्छ ।

     

    पुस्तकमा लगानी कति गर्नुहुन्छ ?
    मन परेपछि खरिद गर्ने हो । रत्न पुस्तकमा ४५ हजार रुपैयाँ पर्ने गोर्खाबारे लेखिएको एउटा किताब राखिएको छ । त्यस्तो किताबमा चाहिं लगानी गर्न सकिदैन ।

     

    तपाईले दोहोर्‍याएको पुस्तक ?
    लियो इ रोजको नेपाल: स्ट्राटेजी फर सर्भाइभल । विदेशीले लेखेकामध्ये सबैभन्दा बढी विश्वास गर्न लायक किताब यही हो । रोज जती नेपाललाई बुझ्ने अर्को विदेशी जन्मिएको छैन ।

     

    तपाईका प्रिय पुस्तकहरु ?
    क्राइम एन्ड पनिस्मेन्ट, ओल्डम्यान एन्ड द सि, द राइज एन्ड फल अफ् थर्ड रइख, गन्स, जम्स एण्ड स्टिल, ह्वाइ नेशन्स फेल, स्ट्राटेजी फर सर्भाइभल, मुनामदन आदी । अनि महेशचन्द्र रेग्मी र बाबुराम आचार्यले लेखेका सबै किताब ।

     

    तपाईका प्रिय लेखकहरु ?
    विदेशीमा ज्यार्ड डायमन्ड, फ्रान्सिस फुकुयामा, दोस्तोयभ्स्की आदी । नेपालीमा देबकोटा, सम, मदनमणि दिक्षित, महेशचन्द्र रेग्मी, बाबुराम आचार्य आदी । समकालिन लेखमा चाहिं डा जगमान गुरुङ, सौरभ र प्रत्युस वन्तका लेखाई बढी उपयोगी लाग्छन् ।

     

    अरुलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
    त्यो त पाठकको रुचिमा पनि भर पर्छ । महाभारत चाहिं पढ्नैपर्ने पुस्तक हो जस्तो लाग्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार