खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस ११, २०७८

  • डोटी, ११ पुस । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले खप्तड हेर्न लाएक छ, यहाँका दृष्य अवलोकनका लागि भए पनि पर्यटक आउनेक्रम बढेको छ ।’

    कोरोना भाइरस सङ्क्रमणको जोखिममा कमी भएपछि गएको वैशाखयता खप्तडमा कम्तीमा पनि आन्तरिक तथा बाह्य गरी तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास होमस्टे तथा विश्रामस्थल निर्माण भएका कारण पनि पर्यटक आउनेक्रम बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आर्कषण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ ।’ यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ ।

    जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको सङ्ख्या अधिक रहेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौँ, सुविधा पाउन थालेपछि पर्यटक आउनेक्रम बढेको छ ।” अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी सङ्घका जिल्लाध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले खप्तडको दृष्य मनमोहक छ, पर्यटकको प्रमुख रोजाइँमा खप्तड परेकाले पर्यटकको आक्रर्षण बढेको हो ।’

    खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार हिजोआज खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् । धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड निकुञ्जमा अहिले बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, डोटीलगायत छिमेकी मुलुक भारतका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिकस्थलका साथै विभिन्न जङ्गली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका–२ बग्लेगसम्म प्रदेश सरकारले सडक सुविधा पुर्‍याइएको छ । बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

    खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा सम्वद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको छ । गाउँपालिका, गाउँपालिकाकै वडा नं २ र होटल व्यवसायी सङ्घको संयुक्त लगानीमा बग्लेक गाउँका दश घरमा घरबास सेवा पनि सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल बनेको निकुञ्जभित्र नागढुङ्गा, खापर दह, सहस्र लिङ्ग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुङ्गी देख्न सकिन्छ । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दाबढी चराचुरुङ्गी पाइन्छ । एकसय पचास मिटर लम्बाइ ५० मिटर चौडाइको खप्तड दहमा बाह्रै महिना पानीको सतह एकैनाशको हुन्छ । यहाँ अन्य ५२ दह छन् ।

    निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जङ्गल रहेको छ । यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई विसं २०४० मा राष्ट्रिय निकुञ्ज बनाइएको थियो । यस क्षेत्रको सुरक्षाका लागि विसं २०४७ देखि नेपाली सेनाको व्यारेक स्थापना गरिएको छ । दुईसयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडीबुटी पनि पाइने खप्तडमा मङ्सिरदेखि फागुन महिनासम्म हिउँले ढाक्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट