जापानी भाषाका अनुवादक जिज्ञान कुमार थापाको ‘जापानः सपना संघर्ष र सफलता’ लोकार्पण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, साउन २६, २०८१

  • काठमाडौं । जापानी भाषाका अनुवादक जिज्ञान कुमार थापाको पुस्तक ‘जापानः सपना संघर्ष र सफलता’ शनिवार लोकार्पण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक जिज्ञान कुमार थापाले किताब संयुक्त रुपमा विमोचन गरेका थिए ।

    नेपालका लागि जापानी राजदूत किकुता युताकाले किताब समय सान्दर्भिक भएको बताए । ‘किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरुले नेपालको र नेपालीहरुले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपालको जापानबीचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ’, उनले भने, ‘पछिल्लो समय जापानमा नेपालीको संख्या बढिरहेको छ । त्यहाँ बस्नेहरु खुसी छन् भन्ने लाग्छ । जापानमा युवा जनशक्तिको खाँचो छ । त्यो आवश्यकता पूरा गरिदिएकोमा हामी नेपालप्रति आभारी छौं ।’

    त्यसैगरी जापानका लागि पूर्व नेपाली राजदूत मदनकुमार भट्टराइले जापानको सभ्यता, प्राकृतिक सौन्दर्य र जापानीहरुको मृदुभाषी बानीले लोभ्याउने गरेको र त्यो कुरा किताबमा आएको बताए । ‘राजदूतको रुपमा पहिलोपटक उता पुग्दा जापानको सभ्यता, प्राकृतिक वातावरण र जापानका मृदुभाषी जनताले मलाई खुबै लोभ्यायो, उनले भने, ‘जापानको सपना संघर्ष र सफलताले यसलाई समेटेको छ ।’

    लेखक जिज्ञान कुमार थापाले जापानमा बसेर लामो समय दोभाषेको काम गरेको अनुभव सुनाए । उनले भने, ‘यो किताब जापान जान चाहनेलाई समर्पित छ । मैले हाँसिल गरेको ज्ञान, अनुभव पस्किएको छु किताबमा । जापान जान चाहनेका लागि यो पुस्तकले त्यहाको समाज र संघर्षलाई कसरी आत्मसाथ गर्न सकिन्छ र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्न सघाउने छ ।’

    लेखक शैलेन्द्र अधिकारीले किताबमाथि टिप्पणी गर्दै भने, ‘भर्खरै जापान पुगेका, जापान जान लागेका, जापान जान सपना देखेका र जापानबारेमा जान्न चाहने सबैका लागि यो एक बहुउपयोगी पुस्तक हो ।’

    पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरुले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयहरुलाई मिहिन ढंगले व्याख्या र विश्लेषण गरेको छ । ‘जापानः सपना संघर्ष र सफलता’ लाई चक डस्टर प्रकाशन गृहले बजारमा ल्याएको हो । किताबको मूल्य ५ सय रुपैया छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट