
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले बृक्षारोपण गरेर यस अभियानको सुरुवात गरेका छन् ।
यस अभियानलाई अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) को नेतृत्वमा सञ्चालित “क्लाइमेट स्मार्ट सिटीज” परियोजनाको एक नविनतम पहलको रूपमा मैनादेवी फाउन्डेसनले कार्यान्वयन गरिरहेको छ । दिव्य पशुपतिनाथ अभियानले पशुपतिनाथ मन्दिर परिसरमा बढ्दो प्लास्टिक फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्दै वातावरणीय संरक्षण र हरियाली प्रवद्र्धनमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य सचिव सुवास चन्द्र जोशी, गौशाला प्रहरी प्रभागका डीएसपी सुकदेव खनाल, काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) की महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाको टिम लिडर सुजाता कोइराला, क्रिएसनका बोर्ड सदस्यहरू तथा दुबै संस्थाका टिम सदस्यहरूको उपस्थिति रहेको थियो ।
अभियान अन्तर्गत सरसफाई अभियान, वृक्षारोपण कार्यक्रम, फ्रन्टलाइन कर्मचारीहरूका लागि व्यावसायिक सुरक्षा सम्बन्धी तालिम तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछन् । यस अभियानले युवा, स्थानीय समुदाय तथा सरोकारवाला पक्षहरूलाई मन्दिरको पवित्रता र पर्यावरणीय स्वास्थ्यको संरक्षणमा सक्रिय र सामूहिक रूपमा सहभागी गराउने लक्ष्य लिएको छ ।
दिव्य पशुपतिनाथ अभियानको उद्घाटन अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा २ सय भन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसर वरिपरि आयोजित यस वृक्षारोपणले वातावरण संरक्षणप्रति जनस्तरको सामूहिक प्रतिबद्धता र चेतनशील सहभागितालाई प्रतीकात्मक रूपमा उजागर गरेको थियो ।

आफ्नो मन्तव्यका क्रममा माननीय मन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई विशेष रूपमा जोड दिंदै ‘दिव्य पशुपतिनाथ अभियान’ लाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने आवश्यकतालाई औंल्याए । ‘यो अभियानले हाम्रो पवित्र सम्पदालाई स्वच्छ र हरियाली बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउनेछ ।’ मन्त्री पाण्डेले भने, ‘यस अभियानले हाम्रो दिगो तथा समावेशी शहरी विकासको दृष्टिकोणलाई पनि प्रतिविम्बित गर्छ ।’
मैनादेवी फाउन्डेसनका संस्थापक केपी खनालले फाउन्डेसनको भूमिका प्रष्ट पार्दै यस अभियान अन्तर्गत वर्षभरि सञ्चालन गरिने गतिविधिहरूको जानकारी प्रस्तुत गरे । यस अभियानमा समुदायको सक्रिय सहभागिता, वातावरणीय संरक्षणमा केन्द्रित रहने उल्लेख गरे ।
क्रिएसनकी महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाकी टिम लिडर सुजाता कोइरालाले आफ्नो मन्तव्यमा प्लास्टिक फोहोर व्यवस्थापनको चुनौती र त्यसको दीगो समाधानमा जनचेतनाको भूमिकालाई विशेष जोड दिइन् । उनले क्लाइमेट स्मार्ट सिटीज परियोजनामार्फत काठमाडौं र भरतपुरमा फोहोर व्यवस्थापन र वातावरणीय सचेतनालाई सशक्त बनाउने योजना रहेको जानकारी दिँदै भनिन्, “पशुपतिनाथ क्षेत्रमा जस्तै वातावरणमैत्री अभियान भरतपुरमा पनि प्रारम्भ गरिनेछ ।”

क्लाइमेट स्मार्ट सिटीज परियोजना अन्तर्गत सञ्चालित ‘दिव्य पशुपतिनाथ अभियान’ वर्षभरि सञ्चालन हुने अभियान हो । जसमा फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनिकरण, पुनः प्रयोग र पुनः चक्रणलाई प्रवद्र्धन गर्ने लगायतका वातावरणमैत्री गतिविधिहरू समावेश छन् । यस अभियानमार्फत धार्मिक स्थलको पवित्रता कायम राख्दै, दिगो र वातावरणमैत्री शहरी विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।