
काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुसँग उत्प्रेरित अन्तरक्रिया गर्दै विविधताको उत्सव–डाइभर्सिटी कार्निभल कार्यक्रम सम्पन्न भएको छ । दलित लाइभ्स म्याटर ग्लोवल अलायन्सको आयोजनामा प्यानल डिस्कसन, युवाहरुबीच संबाद, वैचारिक प्रशिक्षण र सांगितिक प्रस्तुतिसँगै विविधताको उत्सव मनाइएको हो ।

राष्ट्रिय फुलबल टिमकी क्याप्टेन अन्जीला तुम्बाप्पोले दाइहरुसँग खेलेर फुटबल सिकेको र केटाहरुको बीचमा कट्टु लागाएर खेल्दा समाज र परिवारबाट दवाब झेल्नु परेको अनुभव सुनाइन् । भागीभागी आफुले फुटबल खेल्ने गरेको बताउँदै कठोर मेहनतले मात्र यहाँसम्म पुगेको उल्लेख गरिन् । अब नेपालको लागि गोल्ड मेडल जित्ने आफ्नो सपना रहेको र नेपाली महिला फुटबल टिम त्यसको निकै नजिक रहेको बताइन् ।
आफ्नो संघर्षको दिन सम्झदै अन्जिलाले भनिन्, ‘हामी एकदमै बन्धनमा बा“धिएर आएका हौं । पाँच वर्ष हुँदा ममी र ड्याडी छुट्टीनुभयो । संघर्ष नगरि कहि पुगिदैन, आमाका सहायतामा मैले निरन्तर मेहनत गरें । संघर्ष गर्दै जादा नसोचेको क्याप्टेन फिल्म जस्तो नसोचेको कुरा पुरा हुँदो रहेछ ।’ हिजो सामान्य खेलाडी भए पनि अहिले आफुसँग सिंगो देश नै जोडिएकाले आफुमाथि जिम्मवारीबोध रहेको पनि स्वीकार गरिन् ।
‘हालै ग्रीसमा ए डिभिजन लिगहरु खेलेर आएँ, यो जीवनका निकै ठूलो उपलब्धी थियो । अब हाम्रो वल्र्ड कप खेल्ने सपना छ । सायद त्यो इच्छा पनि चा“डै पुरा हुन्छ होला’, उनको आत्मविश्वास थियो । उनले समाज परिवर्तन हुनको लागि पहिला आफु परिवर्तन हुनुपर्ने सुझाईन् । उनले भनिन्, ‘पहिला आफुले आफुलाई चिनऊ अनि मात्र समाज परिवर्तन हुन्छ । मैले गोल्ड मेडल दिन्छु भनेपछि पहिले मभित्रको मलाई चिन्नुपर्छ ।’
दलित लाइभ्स म्याटरका अध्यक्ष प्रदीप परियारले सपना संघर्ष र सफलतामाथि उत्प्रेरक र विविधताको सम्बाद गरे । यस उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर स्मृति हरिजनले कि नोट् स्पिच दिईन् । छलफलको सेसनमा नेपाली फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बाप्पो सुव्बा, अभिनेता नाजिर हुसेन, विश्वका आप्रवासीका नेतृत्वकर्ताको रुपमा क्रियाशिल महेन्द्र पाण्डे, मुसहर समुदायबाट नेपाल सरकारको उपसचिव पदमा पुगेका सुनिल कुमार पासवान र बोल्न र सुन्न नसक्ने क्वेर मीना जोशीले दोभासेको सहायतामा प्रदीप परियारसँग उत्प्रेरक सम्बाद गरेका थिए ।

डा. हरिजनले चमार समुदायबाट डाक्टर बन्न पाउँदा र आफ्नो अनुभुति सुनाउन पाउँदा निकै भावुक महसुस भएको उल्लेख गरिन् । छोरी भएर किन पढ्ने, काम गर्न सिकेपछि पो राम्रो केटासँग विहे हुन्छ भन्ने जस्ता तमाम प्रश्नको वावजुत आफु डाक्टर हुन सफल भएको उनले स्मरण गरिन् । ‘काठमाडौंमा पढ्न आउन पनि त्यति सहज थिएन । तर, चमार, डोम, मुसहर समुदायलाई विश्वविद्यालय अनुदान आयोगले एमविविएसको छात्रबृत्ति दिने प्रावधानकै कारण मैले र बाबाले देखेको सपना पुरा भयो ।’ उनले भनिन् ।
उपसचिव सुनिल कुमार पासवानले अफु शिक्षक हुँदै निजामतिमा आएको र त्यसपछि आफ्ना समुदायका थुप्रै मानिसहरु निजामति सेवा प्रवेश गरेको बताए । ससरकारी विद्यालय पढेरै गणितमा आफुले टप गरेको उल्लेख गर्दै सरकारी र बोर्डीङले पढाइमा त्यति धेरै प्रभाव नपार्ने उल्लेख गरे । ‘मैले खुला बाटै शिक्षक सेवा आयोगमा पनि एक नम्बरमा नाम निकालेको थिएँ, आफ्नो समुदाय प्रशासनमा पीडित भएकाले फेरि निजामतिमा पनि खुलाबाटै नाम निकाले’, उनले थपे, हामी जस्ता युवा आएपछि अहिले सरकारी सेवामा मुभमेन्ट जस्तो भइरहेको छ । राज्यले कल्पना गरेको अहिले वास्तविकतामा देखिदै छ ।’
संसारभर रंग, जात, लिंगको आधारमा विभेद भएकाले कसैको कुरा नसुनि एकाग्र भएर पढ्नुको विकल्प नरहेको उनको भनाई थियो । अन्त्यमा भने, ‘जात जन्मबाट आएको होइन समाजबाट आएको हो । हामीलाई धेरै ठूलो केही बन्नु छैन, मान्छे भए पुग्छ । जनावरबाट मान्छे बन्न निस्कीएका थियौं, बीचैमा छौं ।’
पाल्पाको सामान्य परिवारमा जन्मीएर आप्रवासी मजदुरी गर्दै विश्व आप्रवासीको नेतृत्वमा पुगेका महेन्द्र पाण्डेले आफुलाई साउदीमा काम गर्दा देखेका पीडाहरुले मजदुरको हकहितको लागि लड्नको लागि प्रेरणा मिलेको उल्लेख गरे । फ्रिडम फण्ड अमेरिकाको उपाध्यक्ष र ह्युमानिटी युनाइटेडको बेर्ड सदस्यसम्म पुगेका पाण्डेले सबैसँग फ्रस्टेड भए पनि आफ्नो सपना र लक्ष्यसँग कहिल्यै फ्रस्टेड नहुन युवाहरुलाई उत्प्रेरणा दिए ।
‘पढ्ने र भ¥याङ बनाउने मेरो र परिवारको सपना थियो, बैदेशिक रोजगारी बाट फर्कीएर संस्था स्थापन गरे पढे र यहाँसम्म पुगे’, उनले भने, हामीले आफ्नो अनुहारमा होइन की समाजको ऐनमा हेर्नुपर्छ । एक जना मात्रलाई पनि हामीले सहयोग गर्यो भने त्यसले खुशी र प्रतिफल दिन्छ । सपना सानो ठूलो हुँदैन सानो कुराहरुलाई पनि सेलिब्रेट गर्न सिक्नुपर्छ ।’
त्यस्तै कलाकार नाजिर हुसेनले आफु मधेशको खोला छेउमा हुर्कीएर आएको मानिसले यहाँसम्म पुग्नु कल्पनाभन्दा वाहिरको कुरा भएको बताए । मधेशी भाषाकै कारण थुप्रै पटक फिल्ममा अस्वीकार भएको र सर्वस्वीकार्यको लागि आफु गोरो हुन अनेक उपायहरुसमेत अपनाएको तितो यथार्थ सुनाए ।

‘म हिन्दु ममी र मुस्लीम बाबा भएको परिवारमा हुर्किएर बहुसंस्कृतिको अभ्यास गर्न पाए । सुफि, कला र सृजनामा सानैदेखि लगाब थियो’, उनले भने, तर, फिल्ममा अस्वीकृत भए पनि कितावहरुले मलाई त्यसका वावजुत वलियोगरि उभिन उत्प्रेरित गरे ।’ मधेशलाई सबैले कमेडी, गुण्डा र पानीपुरी वालाको रोल राख्ने नेपाली फिल्मको परम्परालाई आफुले केही हदसम्म तोडेको पनि उनको दावी छ । ‘मैले गाउँमा टिभि हेर्दा एक दिन यो टिभिभित्र म नाचिरहेको हुन्छु भन्ने सपना देख्थे । अब मेरो उद्देश्य छ की संसारमा चिनिने काम गरु’, उनको भनाई छ । आफुभित्रको हुटहुटी र जुनुनलाई कहिल्यै मर्न नदिन सुझाव दिदै ती सपनाहरुले घच्घच्याइरहे मात्र अगाडि बढ्न सकिने उल्ल्ेख गरे । ‘मधेशका मान्छेहरुले प्रेम गर्न पनि जानको हुन्छन् रिसाह मात्र हुँदैनन्, कालो मात्र होइन गोरो पनि हुन्छन्, नेपाली र अग्रेजी पनि बोल्छन् । लगाम लगाएको घोडाले जस्तो एउटै दृष्टिकोणबाट नहेरिदिनुहोला’, अन्त्यमा आफ्नो तर्क राखे ।
कान नसुन्ने र बोल्न पनि नसक्ने रेन्वो डिसविलिटी नेपालकी उपाध्यक्ष मिना जोशीलो दोभासे सुनिाता श्रेष्ठको माध्ययमबाट आफ्नो कुरा खुलस्त रुपमा राखिन् । ढलेको विजुलीको पोलले लागेर यस्तो अवस्थामा पुगेको बताएकी मिनाले अवसर र मौका पाए आफुहरुले पनि अगाडि बढ्न सक्ने उल्लेख गरिन् ।
‘म काभ्रेमा निम्न परिवारमा जन्मीएँ, पछि काठमाडौं आएर डिएभी स्कुलमा पढें । अहिले संस्थामा काम गरिरहेकी छु’, उनले थपिन्, ‘पछि आफु क्वेर भएको थाहा पाउँदा साथीहरु र परिवारले अस्वीकार गरें । मैले बल्ल बल्ल परिवारलाई मनाएँ र लड्न सिकें ।’ उनले अपांगता भएका ब्यक्ति र लैंगिक अल्पसंख्यकलाई घृणाको दृष्टिबाट नहेर्न र सँधै सकारात्मक सोचिदिन आग्रह गरिन् । ‘मेरो सपना भनेको अपांगता भएका लैंगिक अल्पसंख्यकको लागि उदाहरणीय काम गर्नु हो’, उनले थपिन्, ‘कुनै पनि मानिसलाई भेदभाव नगर्नुस्, पढाएर पनि के काम भन्ने नसोच्नुस्, अवसर पाएपछि जसले पनि सक्छ नी ! पहिला तपाइहरुले सिर्जना गर्नुभएको बाधाहरु हटाइदिनुस् ।’
कार्यक्रममा रोमन म्यागासेसे अवार्ड विजेता विल्सन बेजवडाले उत्पीडितविरुद्धको अभियान र संघर्ष एक पटकको लागि नभइ निरन्तर चल्ने र गरिरहनुपर्ने तर्क पेस गरे । त्यस्तै, लेखक सीके लालले जात व्यवस्था कर्म नभइ सत्ता भएको र आत्मसम्मानको खोजीको लागि सत्तासँग संघर्ष गर्नुपर्ने उल्लेख गरे । विविधता भनेको रचनात्मकता र शक्ति हो त्यसैले यसलाई उत्सव रुपमा मनाऔ’ं, उनले थपे ।
कार्यक्रममा देशैभरिबाट दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्तिहरु तथा विविध यौनिक तथा लैंगिक पहिचान भएका करिव डेढ सय युवाहरुले सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयक छुट्टा छुट्टै कार्यशालामा गहन छलफल गरि आफ्नो समस्या समधान र सरकारले गर्ने कार्यक्रमहरुबारे निश्कर्ष निकाले ।
उक्त निश्कर्ष प्रधानमन्त्रीलाई भेटेर उपलब्ध गराउने संस्थाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । उनले आफुहरुले मन्त्री प्रधानमन्त्रीलाई सहभागिता गराएर भन्दा पनि युवाहरुलार्ई प्रेरित गर्ने र जाती विभेद अन्त्यको लागि उत्प्रेरक कार्य गरिरहने उल्लेख गरे । कार्यक्रममा महिला ब्याण्ड कासा र किरण नेपालीको सांगितिक प्रस्तुति दिएको थियो ।