नेपाल फूलबारी’ को फोहोर व्यवस्थापन यात्राः चुनौतीबाट अवसरसम्म


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३, २०८२

  • भदौ १४ । फोहोरलाई मोहोरमा बदल्ने संकल्पका साथ भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ’नेपाल फूलबारी वेस्ट थ्रिआर पोलुसन कन्ट्रोल सर्भिस’ले दिगो फोहोर व्यवस्थापनमा एक उल्लेखनीय यात्रा तय गरेको छ। सामान्य रिक्साबाट सुरु भएको यो यात्रा आज हजारौं घरधुरीको जीवनमा सकारात्मक प्रभाव पार्दै, कर्मचारी कल्याण र वातावरणीय संरक्षणको ज्वलन्त उदाहरण बनेको छ।

    गैरसरकारी संस्थाबाट निजी कम्पनीसम्मको रुपान्तरण
    सन् २०६०–६२ मा गैरसरकारी संस्थाका रूपमा चाबहिलको धुम्बाराहीबाट फोहोर संकलनको कार्य थालेको नेपाल फूलबारीले सुरुमा मानिसहरूलाई नदीमा फोहोर फाल्ने बानीबाट मुक्त गराउन सचेतनाका कार्यक्रमहरू चलायो। पछि सरकारको नीति परिवर्तन भई फोहोर व्यवस्थापनमा गैरसरकारी संस्थालाई रोक लगाएपछि, २०७० साल चैतमा ’नेपाल फूलबारी वेस्ट थ्रिआर पोलुसन कन्ट्रोल सर्भिस’का रूपमा निजी कम्पनीमा दर्ता भई यसले आफ्नो कार्यलाई निरन्तरता दियो।

    राजेश कटुवालको दूरदृष्टि र केदार प्रसाद घिमिरेको नेतृत्व
    कम्पनीका सीईओ राजेश कटुवालले २०५२ सालतिरै ओखलढुंगाबाट एक्लै रिक्सा चलाएर घरघरबाट फोहोर संकलनको सुरुवात गरेका थिए, जसलाई यस कम्पनीको जग मानिन्छ। हाल, कम्पनीको फिल्ड व्यवस्थापक केदार प्रसाद घिमिरेले १५ वर्षदेखि फिल्डमा रहेर फोहोर व्यवस्थापनको नेतृत्व सम्हालिरहेका छन्। उनी दशैँ–तिहार जस्ता चाडपर्वमा समेत बिहान ६ बजेदेखि ९ बजेसम्म फिल्डमै खटिन्छन् र “कामप्रति नै सबै चाडबाड हो“ भन्ने मान्यता राख्छन्।

    विस्तारित सेवा र आधुनिक प्रविधि
    हाल कम्पनीले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका करिब १४,००० घरधुरीलाई सेवा प्रदान गरिरहेको छ। यसका साथै विराटनगर महानगरपालिकाका पाँच वटा वडा र गौरादह नगरपालिकामा समेत यसको सेवा पुगेको छ। फोहोर संकलनका लागि १७–१८ वटा गाडीहरू प्रयोगमा छन्, जसमा जीपीएस जडान गरिएको छ। यसले गाडीहरूको वास्तविक समयमा अनुगमन गर्न र सेवाको गुणस्तर कायम राख्न मद्दत पु¥याउँछ।

    कम्पनीले फोहोरमैला व्यवस्थापनमा नवीन अवधारणाहरू अपनाएको छ। जस्तै, आपत्कालीन अवस्थाका लागि ’फोहोर एम्बुलेन्स’को व्यवस्था, जसले बाटोमा मरेका जनावर वा आकस्मिक फोहोर आधा घण्टाभित्रै व्यवस्थापन गर्छ।

    कर्मचारी कल्याण र सामाजिक दायित्व
    नेपाल फूलबारीले आफ्ना ९० जना प्रत्यक्ष कामदारहरूको कल्याणलाई उच्च प्राथमिकतामा राखेको छ। उनीहरूका लागि सामाजिक सुरक्षा कोष, भक्तपुर इन्टरनेसनल अस्पतालसँगको समन्वयमा निःशुल्क उपचार, बीमा, र मेडिकल बिल भुक्तानीको व्यवस्था छ। कर्मचारीहरूलाई बिहानदेखि बेलुकासम्म खाना र बस्नका लागि आवासको सुविधा उपलब्ध गराइएको छ, जसमा करेसाबारी र बालबालिकाका लागि शिक्षा तथा खेलकुदको व्यवस्था पनि समावेश छ। यसले कर्मचारीको भविष्यप्रति चिन्तित कम्पनीको प्रतिबद्धता झल्काउँछ।

    ’सिस्डोल बिनाको परिकल्पना’ र वातावरणीय संरक्षण
    कम्पनीले ’सिस्डोल बिनाको परिकल्पना’का साथ फोहोर व्यवस्थापनमा दिगोपनको खोजी गरिरहेको छ। ट्रान्सफर स्टेशनमा फोहोरलाई प्लास्टिक, कागज, धातु, खाद्यवस्तु, ई–वेस्ट लगायतका विभिन्न वस्तुहरूमा वर्गीकरण गरिन्छ। यसरी करिब ६५–७०% फोहोर यहीं व्यवस्थापन (बिक्री वा कम्पोष्ट) गरिन्छ, भने बाँकी ५% मात्र बन्चरे डाँडा ल्यान्डफिल साइटमा पठाइन्छ। प्लास्टिक रिसाइक्लिङ मेसिन खरिद गर्ने योजनाले नदीनालामा पुग्ने प्लास्टिकको मात्रा घटाउन सहयोग पु¥याउनेछ।

    कम्पनीले ’ग्रीन शिफ्ट नेपाल’ परियोजना अन्तर्गत युरोपियन युनियनको सहयोगमा कार्य गरिरहेको छ। यसले कर्मचारीको सुरक्षाका लागि फस्र्ट एड बक्स, फायर एक्सटिन्गुइशर, पीपीई (ग्लोब्स, पञ्जा) जस्ता सामग्री उपलब्ध गराउनुका साथै कर्मचारीका बालबालिकाका लागि अध्ययन कक्षको पनि व्यवस्था गरेको छ।

    चुनौती र अवसर
    फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्ने कामदारप्रति समाजको नकारात्मक धारणा, कम ज्याला र लाजको कारणले कर्मचारी पाउनु मुख्य चुनौती बनेको छ। केदार प्रसाद घिमिरेका अनुसार, “नाकले गनाउने ठाउँमा मान्छेले आँखाले गनाइदिन्छ“ भन्ने गलत सोचका कारण दक्ष कामदार पाउन गाह्रो छ। तर पनि, नेपाल फूलबारीले यस क्षेत्रमा काम गर्नेहरूका लागि सम्मान र अवसर प्रदान गरिरहेको छ, जसले गर्दा यहाँका कर्मचारीहरूले मासिक रु ३०–३५ हजारदेखि ७०–८० हजारसम्म कमाइ गर्न सकेका छन्। कतिपयले फोहोरबाटै बंगुरपालन र हाँसपालन जस्ता व्यवसाय गरी आत्मनिर्भर बनेका छन्। अमित बलामीजस्ता युवाहरूले जेसीबी चलाएर कम्पनीको काममा योगदान गरिरहेका छन्।

    नेपाल फूलबारीले फोहोरलाई बोझ नभई अवसरको रुपमा हेर्दै, वातावरणीय स्वच्छता, कर्मचारी कल्याण र आर्थिक वृद्धिको त्रिकोणात्मक लक्ष्यसहित अगाडि बढिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट