तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनुको विकल्प छैन : रुपेश पाण्डेय


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज १२, २०८२

  • पर्सा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पर्सा ३ का युवा नेता रुपेश पाण्डेयले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताएका छन् ।

    पर्सा ३ बाट उम्मेदवारका रूपमा चर्चामा समेत रहेका पाण्डेयले मुलुक फेरि राजनीतिक स्थायित्वका लागि तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नै निर्वाचनका लागि बनेकाले जसरी भए पनि निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।

    हालै सम्पन्न जेनजी आन्दोलनलाई पाण्डेयले परिवर्तनको मार्गदर्शकका रूपमा व्याख्या गरे । आन्दोलनमा ७५ भन्दा बढी विद्यार्थी र युवाको प्रहरीको गोली लागेर मृत्यु भएको उल्लेख गर्दै उनले त्यसलाई हत्या ठहर गरे र तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जिम्मेवार ठहर गर्नुपर्ने बताए ।

    उनले आन्दोलनको मर्मअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई अब अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘अब नयाँ पुस्ताले काम गर्ने नेतृत्व खोजिरहेको छ, पुराना नेताहरूबाट जनताले अपेक्षा गर्न छाडेका छन्,’ उनले भने ।

    निर्वाचनमा होमिने तयारीमा रहेका पाण्डेयले विकासमै ध्यान केन्द्रित गर्ने समेत बताए। ‘म शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा ध्यान दिन्छु,’ उनले भने, ‘यस क्षेत्रमा किसानले मल पाउने समस्या, उत्पादनको बजार अभाव, कोल्ड स्टोरको आवश्यकता लगायतका विषय तत्काल सम्बोधन गर्नुपर्छ ।’

    उनले विद्यालयमा अध्यापनको गुणस्तर, स्वास्थ्य चौकीको सेवा, बाटोघाटोको अवस्था सुधारलाई प्राथमिक एजेन्डा बनाउने बताए । साथै कृषिको प्रवर्धनका लागि सरकारी तहको सहयोगसहित सहजीकरण गर्ने योजना रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट