पर्सा-३ मा कांग्रेसभित्र नयाँ नेतृत्वको माग, नेता सुरेन्द्र चौधरीमाथि आलोचना तीव्र


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक ३०, २०८२

  • पर्सा । पर्सा क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग खुलेर उठ्न थालेको छ। लामो समयदेखि क्षेत्रको नेतृत्व गर्दै आएका कांग्रेस नेता सुरेन्द्र चौधरीमाथि कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने सुझाव सार्वजनिक रूपमा व्यक्त गरेका छन्।

    कार्यकर्ताहरूले चौधरीले विकास निर्माणमा प्रभावकारी भूमिका निभाउन नसकेको, आन्तरिक कलह बढाएको तथा गाली-गलौजलाई राजनीतिक शैली बनाएको आरोप लगाएका छन्।

    विसं २०४८ सालदेखि निरन्तर चुनाव लड्‌दै आएका चौधरीले पटक-पटक अवसर पाए पनि क्षेत्रमा अपेक्षित गतिमा विकास दिन नसकेको कार्यकर्ताहरूको गुनासो छ। चौधरीले विगतमा कांग्रेसभित्रका विभिन्न नेताहरूमाथि आरोप-प्रत्यारोप गर्दै टिकट हात पार्ने राजनीति गर्दै आएको आरोप पनि लगाइएको छ।

    सुरुमा रमेश रिजाल पछि सभापति जनार्दन सिंह क्षेत्रीको चर्को आलोचना गरेको केन्द्रीय सदस्य अजय चौरासिया र अजय द्विवेदीलाई समेत गालीगलौज गरेर सत्ताको नजिक रहिरहेको आरोप कार्यकर्ताहरूले लगाएका छन् । सोही कारण कांग्रेस पर्सामा विवाद भइरहेको तथा अस्थिरता ल्याउन चौधरी मुख्य कारण रहेको उनीहरूको आरोप छ।

    हाल महामन्त्री गगन थापा गुटमा सक्रिय देखिएका चौधरीले पार्टी सभापति देउवासहितका शीर्ष नेताहरूको आलोचना गर्दै गगनलाई रिझाएर टिकट पाउने मनसाय राखेको कार्यकर्ताहरू बताउँछन् । गाली गरेर मात्रै टिकट लिन सकिन्छ भन्ने चौधरीको बुझाइ असफल हुँदै गएको उनीहरूले बताएका छन्।

    कांग्रेसभित्रैका युवा कार्यकर्ताहरूका अनुसार पर्सा-३ मा अब सक्षम र नयाँ पुस्ताका नेताहरूलाई अघि ल्याउनुपर्ने, चौधरीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टीलाई ‘एकलौटी नियन्त्रण गर्ने सोच त्याग्नुपर्ने’ आवश्यकता रहेको बताइएको छ ।

    चुनावी प्रतिस्पर्धामा चौधरीले जातीय भावनामा खेल्न खोजेको आरोप पनि कार्यकर्ताहरूले लगाएका छन्। ‘४८ सालदेखि पटक-पटक अवसर पाएर पनि ठोस कामको अनुभूति गर्न नपाएकाले अब जनताले आफैं हिसाब-किताब गर्नेछन्’ एक कार्यकर्ताले बताए।

    आगामी महाधिवेशनदेखि निर्वाचनसम्म कांग्रेसले युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने, चौधरीले पनि संगठनलाई मजबुत बनाउन नयाँ पुस्तालाई साथ दिनुपर्ने र पछिल्लो समय सार्वजनिक रूपमा व्यक्त भइरहेको असन्तोषलाई गम्भीर तरिकाले बुझ्नुपर्ने देखिएको उनीहरूको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट