स्वदेश फर्केका नेपाली हर्षित, आरडिटी किटको अभाव


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २३, २०७७

  • वैतडी, २३ वैशाख । एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् ।

    कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । ‘विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ’, उनले भने, ‘विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ ।’

    भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताए । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवादसमेत व्यक्त गरे ।

    भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताए । उनले भने, ‘विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।’

    झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए ।

     

    क्वारेन्टाइन अनुगमनमा तीव्रता

    सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिन सबै ठाउँमा अनुगमन गर्न थालिएको हो ।

    अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ँक्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ ।”

    दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेका बताइएको छ । गत बिहीवार सीमानाका झुलाघाट हँुदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए ।

    आरडिटी कीटको अभाव

    बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो ।

    जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ । जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उहाँले बताए ।

    जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५४८ को आरडिटी गरिएको छ । यस्तै ४३० को स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो ।

    जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण

    बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ ।

    दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने, ‘जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।’

    एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ । वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए ।

    उनले भने, ‘वडाका प्रत्येक टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको छ ।’ टोलमै सामाजिक सुरक्षाभत्ता पाउँदा स्थानीय नागरिक पनि खुशी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार