Featured व्यंग्य

कोरोनासँग लिभिङ टुगेदर !

किरण तिम्सेना

‘ओए सुनिस् दाइले फेरि गफ हाने नि…।’ मित्र गम्भिरले फोन गरेरै भने । मैले हतार हतारमा समाचार हेरें । वाह ! …क्या दामी गफ । वाह..गफ होस् त यस्तो..। वाह नेता होस् त यस्तो । हनुमान मिडिया न परो चौतर्फी दाइकै चर्चा । अरे वा चिल्लो कोट लगाएका दाइको फोटो, गाला पनि चिल्लै पारेछन् । ढाकाटोपी नयाँ लगाएछन् । फोटो त कुनै फिल्मको हिरो भन्दा कम छैन । दाइको फोटो संगसंगै लेखिएका हरेक हेडलाईनले दाइको गफको तारिफ गरिरहेका थिए ।

सधैंझैँ मेरा लेखहरुमा दाइको बिरोध हुन्थ्यो । दाइका कार्यशैली, दाइका सामाजिक प्रस्तुतीहरूको म घोर बिरोधि । त्यसैले होला मेरा लेखहरूबाट दाइका पफहरु नमज्जाले रिसाएका थिए । खै किन हो कुन्नी मलाइ दाइलाइ भेट्ने रहर जाग्यो । दाइका स्वकीय सचिवलाइ फोन गरेर भेट्ने चाँजो मिलाउन अनुरोध गरें । उनले दुई दिनपछि दिउसोको समयमा १ घन्टाको समय दिए । म समय अगावै दाइको क्वार्टर पुगें । गेटमा प्रेस पास देखाएँ । नाम टिपाएँ अनि भित्र गएँ ।

 

गेटमा दाइका अरिङ्गाल गण उभिएका थिए । तिमध्ये धेरैलाइ म राम्रोसँग चिन्दछु । ‘अभिवादन कम्रेड ‘…। टाढैबाट एकजना चिनजानका मित्रले लालसलाम टक्र्याए । मैले अभिवादन फर्काएपछि बस्न अनुरोध गर्नुभयो । म छेवैमा रहेको कुर्सीमा बसें ।

दाइ बाहिर आउनुभयो । दाइसंग साक्षात्कार भेटपछि म मेरो भूमिकामा आइपुगें । आखिर आज मिडियालाई केहि खुराक मिल्छ कि भनेर गएको थिएँ । आशा थियो दाइले दिनु हुनेछ । दाइ त दाइ नै भैहाले । कसैलाइ निराश नबनाउने स्वभाव जो छ उनको ।

 

दाइलाइ प्रश्न गरें । ‘दाइ हिजोआज हजुरको गफको चर्चा छ, हजुरलाई कस्तो लाग्छ ?’

दाइले मुस्कुराउँदै भने – ‘भाइ म खुसी छु । मैले जानेको काम मज्जाले गरिरहेको छु ।’
‘दाइ १० लाख मान्छे उतार्न सकिएला त उता निजगढमा ?’

दाइले मुस्कुराउँदै भने, ‘त्यो दिन जम्मा १० लाख भनेछु मेरो लक्ष्य त ३० लाखको थियो ।’

‘दाइले नेपाल कोरोना फ्री जोन हो भन्नुभएको थियो ।’

‘हो भाइ, के भनौं, के भनौ भैराखेको थियो भन्दिएँ ।’

‘दाइ पर्यटन क्षेत्रका मजदुरहरुलाइ निर्माण क्षेत्रतिर पठाउने कुरा गर्नु भएको थियो नि ?’

‘हो हो…मैले भन्या हो ।’

‘अनि निर्माण क्षेत्रका मान्छेलाइ चै कता पठाउने नि ? त्यो काम यातायात मन्त्रीको हो ।’

‘गाडिमा हालेर पठाउँछन् जता पठाए नि ।’

‘अनि दाइ, कोरोनासँग लिभिङ टुगेदरमा बस्ने हो ?’

‘हो भाइ, चानचुनेसँग लिभिङ टुगेदरमा बस्ने भन्या हो र ? कोरोनासँग भन्या हो । हिम्मत हुनेले बस्छ ।’

‘अनि दाइ भबिष्यका योजनाहरु के-के छन् त हजुरका ?’
दाइ अब खुसी भएर अनुहारमा चमक लिएर आए । अनि भन्न थाले – भिजिट नेपाल दशकमा ६० करोड विदेशी भित्र्याउँछु । भैरहवामा कतार एयरलाइन्सको शाखा खोल्छु । नेपाल एयरलाइन्समा ५ सय वटा विमान थप्छु । मुस्ताङबाट चन्द्रमामा रकेट उडाउने प्रबन्ध गर्छु । प्रत्येक हिमालका बेसक्याम्पमा अन्तराष्ट्रिय बिमानस्थल बनाउछु । हिमालको टुप्पोसम्म जाने रेल बनाउछु । हरेक हिमालका टुप्पामा बेकरी क्याफे खोल्ने प्रबन्ध गर्छु । म कसैले नसोचेको गर्छु । मैले जान्या छु । मलाइ सप्पै आउँछ ।

‘दाइ, अनि मजदुरलाई केहि छ हजुरको तर्फबाट ?’

दाइले हाँसेरै भने, ‘५ किलो चामल छ ।’

मैले सोचें । वाह ! दाइ हुन् त यस्ता । अन्तरवार्तापछि गेटबाट बाहिर निस्किए एउटा ट्रकको पछाडि लेखिएको थियो, केहि हरफ पढ्न सकें ।
(जल्नेको मन भत्भती जलिरहन्छ, योगेशको गफ चलिरहन्छ ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्