पतनको बाटोमा सरकार


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २९, २०७७

  • किरण तिम्सेना

    मानिसलाई रिस त्यतिबेला उठ्छ जतिबेला उसको अहंकारलाई ठेस लाग्छ । र, उसको अहंकारलाई ठेस तब लाग्छ जब उसलाई आफ्नो हैसियत थाहा हुँदैन । संबैधानिक अधिकारको प्रयोग गर्दै, बेथिति विरुद्ध आवाज उठाउनेहरुलाइ दमन गरेर सत्ताधारीले आफ्नो औकात प्रस्तुत गरेका छन् ।

    मैले देखेका आन्दोलनहरुमा टायर बल्थे, रेलिङ भाँचिन्थे, टेलिफोन बुथ जल्थे, ढुङ्गा हानिन्थे, गाडी तोड्फोड हुन्थे, टाउको फुटाइन्थे । अहिलेको आन्दोलन हेर्दा ति सबै केहि छैनन् । छन् त केवल नारा बोकिएका कागज, मौन आवाज, साथमा छाता, अनि सचेत मन ।

    गणतन्त्रमा बिरोध गर्न पाइन्छ । बिरोध गर्न पाइने अधिकारको रक्षा नै गणतन्त्रको मुल मर्म हो । कुनै पार्टीको झन्डा र राजनैतिक एजेण्डा बिना जनता सडकमा आउछन् भने, सत्ताधारीले गम्भिर रुपमा सोच्नै पर्छ । एउटा पुस्ता सचेत छ जसले कांग्रेस, कम्युनिस्ट र नानाथरी होइन । जनता भएर सोच्न थालेको छ । जनता जनार्दन हुन् । देश जनताको नाम हो ।
    भागवत गितामा भनिएको छ
    हिंस्र: स्वपापेन विहिंसित: खल:
    साधु: समत्वेन भयात् विमुच्यते
    अर्थात्, हिंस्रक स्वभाववाला दुष्टरपापी आफ्नै पापले नष्ट भै समाप्त हुन्छ, अनि सज्जन चरित्रवान पुरुष समता र ममताको स्वभावद्वारा भयदेखी विमुक्त हुन्छ ।

    जिम्मेवार ठानिएकाहरु चिल्लो कोट लगाएर चिल्ला गाडीमा दौडिन्छन् । बेलाबेला अन्टसन्ट बक्दिन्छन् । अस्पतालको आइसियुमा मुसाहरु दौडिन्छन् । पिपिइ, टेस्ट कीट्, भेन्टिलेटर अनि दक्ष जनशक्ति अभाव छ । अर्थतन्त्र ध्वस्त छ । कर थर्काएरै मागिएको छ । सरकारी राहत कुन चरिको नाम हो कसैलाइ थाहा छैन ।

    क्वारेन्टिन सेन्टरहरु हिटलरका ग्यास च्याम्बरलाई जित्ने खालका छन् । कोरोनाको प्रभावले भन्दा बेरोजगारी र मानसिक तनाबले आत्महत्या गर्नेहरू बढिरहेका छन् । भ्रष्टाचार दिन दुई गुणा रात चौगुणा बढेको छ । यी सवै विषयमा आवाज उठाउनेलाइ सरकारको बिरोध किन गरिस् ? भनेर हनुमानहरु स्पष्टिकरण माग्छन् । सरकार आफै दमन गर्न थाल्छ ।

    पतनको संघारमा हिटलर सामान्य मनस्थितिमा थिएनन् । उनको साम्राज्य ध्वस्त हुँदै थियो । र, त्यो भन्दा धेरैअघि उनको मस्तिष्क । यो कतै पढिएको थियो, अहिलै भोग्दै छौं । यो पतनको मार्ग हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार