होटलमा ढुक्कसाथ लगानी गर्नुस् : परराष्ट्रमन्त्री ज्ञवाली


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २४, २०७७

  • काठमाडौँ, २४ पुस  : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताउनुभएको छ । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ को आज उद्घटन गर्दै मन्त्री ज्ञवालीले कोभिड पछि नेपालको पर्यटन फस्टाउने भएकाले होटललगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिनुभयो ।

    मन्त्री ज्ञवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभयो । अहिलेको राजनीतिक अस्थिरताबाट अत्तालिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले छिट्टै मुलुकमा राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञा (भिषा)को व्यवस्था गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । प्रसिद्ध रमादा ब्राण्ड नेपालमा हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा भित्र्याइएको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामको यो होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नता छ ।

    विश्वमा नै करिब नौ हजार (सम्बद्ध समेत)को संख्यामा होटल आवद्ध रहेको रमादा ब्राण्डलाई नेपालमा भित्र्याइएको हो । ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्डलाई पालना गरेर होटल निर्माण गरिएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ । पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ । रमादा अनकोर काठमाडौँ ठमेल, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो ।

    होटलमा सहयोगी बैंकका रुपमा नेबिल बैंक लिमिटेडले फाइन्नान्स गरेको छ । शेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २०० करोड लगानी भइसकेको र निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा कूल लगानी करिब ३५० करोड पुग्ने अनुमान गरिएको छ । यस कम्पनीमा ३६ जनाको शेयर लगानी छ जसमा विदेशी लगानीकर्ताको रुपमा ग्यालेक्सी नेटवर्क लि. हङहकङ रहेको छ । रमादाको सञ्चालक अध्यक्षमा पर्यटन व्यवसायी शान्तिरमण पंगेनी र अन्य पाँच सञ्चालक सदस्य रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार