कर्णाली उत्सव आजदेखि


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन २६, २०७७

  • सुर्खेत । २६ फागुन । आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरू हुँदैछ। ‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सव बुधबार दिउँसो २ बजेदेखि वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सुरू हुँदै छ। आज उद्घाटन हुने उत्सवमा २७, २८ र २९ गते विशेष सत्र सञ्चालन गरिने छ। यो कर्णाली उत्सवको दोस्रो संस्करण हो।

    उत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा।डा। जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’ शीर्षकमा प्रवचन दिएका छन्। उद्घाटन समारोहमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयलगायतका विषयमा बहस हुनेछ।

    प्रदेश राजधानी ‘वीरेन्द्रनगरको वैभव’ का विषयमा नगर प्रमुख देवकुमार सुवेदी र नीति निर्माणमा सार्वजनिक बहसको महत्वका बारेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले विशेष मन्तव्य राख्नेछन्।

    आज प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ‘कर्णाली किन घुम्ने’, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ‘कर्णालीमा महिला नेतृत्व’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ‘अर्थ र बहस’ विषयमा प्रवचन दिनेछन्।

    कर्णाली उत्सवको दोस्रो दिन बिहीबार पाँच वटा सत्र सञ्चालन हुनेछन्। पहिलो सत्र ‘बाडो, थाडो र ओटालो’मा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाय, समाजशास्त्री डा. टीकाराम गौतम र अध्येता गोविन्द नेपालीले बहस गर्नेछन्। यसको सहजीकरण दीपा दाहालले गर्नेछिन्।

    ‘छाउ र भाउ’मा मदन पुरस्कार विजेता लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे र बालरोग विशेषज्ञ डा. नवराज केसी सहभागी हुनेछन्। ‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हीरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमसँग सञ्चारकर्मी भूपेन्द्र खड्काले बहस गर्नेछन् ।

    खस भाषाका विषयमा रमानन्द आचार्य, व्यवसायका विषयमा सुर्खेत उद्योग वाणिज्य संघका सदस्य सिया कार्की, प्रदेशमा पत्रकारिताको अवस्थाका विषयमा प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा, खुला छलफल र पत्रकारिताका विषयमा कलेन्द्र सेजुवाल, विश्वविद्यालय बाहिर प्राज्ञिक बहसका विषयमा कमलेश डिसीले शुभकामना मन्तव्य राख्ने छन्।

    ‘कहरी सुकालो होेला, कइले जाला कैठ?’ मा कर्णालीको स्वास्थ्य अवस्थाका विषयमा बहस हुनेछ। पूर्वस्वास्थ्यमन्त्री गगन थापा, संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. दुर्गा थापासँग लेखक माधव चौलागाइँले छलफल गर्नेछन्।

    यस्तै ‘हाट जान्या, भोट जान्या’ सत्रमा हाट जाँदा र भोट (तिब्बत) जाँदाको अवस्थालाई चित्रण गरिनेछ। कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, डोल्पाका समाजसेवी धनबहादुर बुढाथोकी र मानवशास्त्री जनक राईसँग हाट र भोट जाँदाका अनुभव तथा भोगाइका विषयमा पत्रकार नगेन्द्र उपाध्यायले बहस गर्नेछन्।

    बिहीबारको पहिलो सत्र ‘कर्णाली घुमाउरो पड्डो’मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, योजनाविद् डा. दिनेशचन्द्र देवकोटा र कर्णाली योजना आयोगका सदस्य योगेन्द्र शाहीसँग सामाजिक विकास अभियन्ता डा. रेणु अधिकारीले बहस गर्ने कार्यक्रम रहेको संयोजक कमलराज लम्सालले जानकारी दिए।

    यस्तै ‘पड्नु पड्डो छ: साक्षर, शिक्षित र प्राज्ञिक कर्णाली’ मा शैक्षिक अभियन्ता मिलन पाण्डे, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, शैक्षिक अभियन्ता शान्ता दाहालसँग पत्रकार तुला अधिकारीले बहस गर्नेछन्। प्राङ्गारिक प्रयासमा प्रदेश सरकारका सचिवद्वय राजेन्द्रप्रसाद मिश्र र मोहनदेव जोशी, कुमाख गाउँपालिका सल्यानका अध्यक्ष दिलमाया बुढामगर र खाद्य अधिकारकर्मी सुरेशकुमार गौतमसँग पत्रकार गणेशकञ्चन भारतीले बहस गर्ने कार्यक्रम छ।

    ‘पुँइसाका कुडा, थैलीदेखि बैंकसम्म’ शीर्षकमा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ, प्रभु बैंकका सिइओ अशोक शेरचन, नवील बैंकका मनोज ज्ञवाली र फरवार्ड माइक्रो फाइनान्सका भगवती चौधरीसँग पत्रकार टीकाराम यात्रीले बहस गर्नेछन्। यस्तै ‘कर्णाली, पर्णाली’मा पूर्वाधारविद् डा. शंकरप्रसाद शर्मा, सहसचिव घनश्याम उपाध्याय, धनीराम शर्मा र आइएसटिएसका निर्देशक डा. नम्रता पाण्डेले कर्णालीको योजना, पूर्वाधार र लगानीका विषयमा छलफल गर्नेछन्।

    तेस्रो दिन शनिबार ‘कैथा नेता, कैथो नेतृत्व’ मा बहस हुनेछ। यसअन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश नं २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन्। दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट संघीयताबारे आफ्ना भोगाइ एवं अनुभव साटासाट गर्नेछन्। संघीय सरकारसँग अधिकार बाँडफाँटका विषयमा असन्तुष्टि राख्ने यी दुई प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौती प्रस्तुत गर्नेछन्।

    ‘पश्चिमका प्रशासन’मा कर्णाली प्रदेश सरकारका पूर्वप्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाल सरकारका पूर्वसचिव कृष्णराज विसी, जुम्लाका पूर्वप्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालसँग पत्रकार रुपेश श्रेष्ठले बहस गर्नेछन्।

    यस्तै सञ्चारकर्मी प्रकाश लामिछानेले ‘सरकारी गैरसरकारी’ शीर्षकमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रदेश–२ का न्यायाधिवक्ता दीपेन्द्र झा, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्मा र समृद्धि फाउण्डेशनका निर्देशक दिपेन्द्र चौलागाईसँग बहस गर्नेछन्।

    ‘लोकतन्त्रको लय’मा पत्रकार अमित ढकाल, रंगकर्मी घिमिरे युवराज र रिता परियारसँग सरोजराज अधिकारीले बहस गर्ने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार