बालबालिकाको दुधे दाँत किन बचाउने ?


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र ७, २०७७

  • डा. बुद्धि खडायत
    बच्चाहरुको दाँत सामान्यतया ६ देखि ७ महिनापछि मुखमा आउन थाल्छ । बोलिचालिको भाषामा हामी दुधे दाँत भन्छौ । दुधे दाँतको संख्या २० वटा हुन्छ । यि दाँतहरु साँढे दुई देखि तीनवर्ष भित्र मुखमा आईसक्छन् । हामी सबैलाई सामान्य रुपमा दाँतमा किरा लाग्नाको कारण सफाई नभएर, धेरै गुलियो खाएर हुन्छ भन्ने थाहा नै छ ।

    अधिकांश अभिभावकहरुको बुझाई बच्चाको दाँत आखिर फेरी नै हाल्छ, किरा लागेको दाँत किन उपचार गर्ने, किन बचाउने भन्ने हुन्छ । यस आलेखमा बालबालिकाहरुको किरा लागेका वा सडेको दाँतलाई समयमै किन उपचार गर्नुपर्छ भन्ने बारे जानकारी समेटिएको छ।

    सर्वप्रथम त दाँतको काम के-के हुन्छ बुझौं :
     खाना चपाउने
     अनुहारको सुन्दरता प्रदान गर्ने
     शब्द उच्चारणमा मद्दत गर्ने
     बङ्गाराको हड्डी र यससंग सम्बन्धित मांसपेशीको वृद्धि र विकासमा सहयोग गर्ने
     स्थायी दाँतको लागि सहि बाटो जोगाउने काम गर्ने
     पोषणमा सहयोग गर्ने

    खाना चपाउने मुख्य काम हो दाँतको । बालबालिकाले पोषण तत्व खानाबाट पाउँछन् । यदि खाना राम्रोसंग चपाउन पाएन भने शरीरको पाचन प्रणालीले राम्रोसंग पोषण तत्वप्राप्त गर्न सक्दैन । जसले गर्दा समग्र शारीरिक तथा मानसिक वृद्धि विकासमा असर पर्छ ।

    अनुहारको सुन्दरताको महत्वपूर्ण पाटो हो दाँत । बालबालिकाको दाँतमा किरा लागेर झरेको अथवा कालो दाँत देखिदा आफ्नै दौंतरी माझ हिनतावोध हुनसक्छ । शब्द उच्चारणमा मद्दत गर्ने बच्चाहरुले उच्चारण गर्ने शब्दमा दाँत, जिब्रो र ओठको महत्वपूर्ण भूमिका हुन्छ । अनुहार तथा बङ्गाराको हड्डी र मांसपेशीको वृद्धि विकासमा
    स्वस्थ दाँतले खाना चपाउने काम (Masticatory Function) राम्रो संग गर्छ । यसले गर्दा हड्डी र मांसपेशीको विकास सही तरिकाले हुन्छ ।
    स्थायी दाँतको लागि सहि बाटो जोगाउने काम गर्ने

    बालबालिकाको दुधे दाँत फेरिने प्रक्रिया ६ देखि ७ वर्षवाट सुरु भई १२ देखि १३ वर्षसम्म रहन्छ । दुधे दाँतले पछि आउने स्थायी दाँतको लागि ठाँउ जोगाई राख्छ । जब स्थायी दाँत आउन थाल्छ, दुधे दाँतको जरा आफै खिइएर दाँत झर्ने हुन्छ । र, स्थायी दाँत सही ठाँउमा सहि तरिकाले पलाउँछ । यदि दुधे दाँत साटिने उमेर सम्ममा बचाउन सकेन र उमेर नपुगि निकालियो भने स्थायी दाँत सही ठाँउमा नआउन सक्छ । छेउछाउको दाँतले निकालिएको दाँतको खाली ठाँउ ओगटि दिन्छ ।

    र, स्थायी दाँत बाङ्गोटिङ्गो आउछ । निकालिएको दाँतको खाली भागलाई जोगाइ राख्न विशेष प्रकारको उपकरण (Space Maintainer) लगाउनुपर्छ । विशेष किसिमले तयार गरिएका उपकरणहरुले बाङ्गो टिङ्गो दाँत आउनबाट बचाई सही ठाँउमा आउन मद्दत गर्दछ ।
    दुधे दाँत किराले खाएको छ । र, समयमै उपचार नगर्दा हुने जटिलताहरु :

    – दाँत दुखाई,
    – दाँतको नशा र स्नायुमा सङ्क्रमण,
    – गिजा तथा मांसपेशीमा पिप जम्ने,
    – स्थायी दाँतको कोपिलामा संक्रमण आदि हुन्छ ।
    त्यसैले बालबालिकाको दाँतमा किरा लागेको छ भने समयमा नै एनएमसि दर्ता दन्त चिकित्सकको सल्लाह तथा परामर्श गरी उपचार गराउनु पर्दछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार