प्रगाढ हुन्छ रगतको नाता – क्रान्ति पराजुली   


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २९, २०७७

  • पराजुली समाजको २१ औं वार्षिकउत्सव तथा छैठौं केन्द्रीय महाधिवेशनको कार्यक्रम मिति २०७७ चैत्र २७ गते सम्पन भएको छ । पराजुलीकी छोरी तथा एक साहित्य अनुरागी भएको हैसियतले सो कार्यक्रममा उपस्थित भई कविता वाचन गर्न पाउँदा धेरै नै खुसी लागेको थियो । पराजुली थरसँग जन्मजात मेरो रगतको नाता छ । पराजुलीकी छोरी हुनुले मात्र पनि पराजुली शब्दसँगको आत्मीय भाव, प्रेम र सद्भावसँग जोडिएर आउने कुरा स्वाभाविक भयो । संसारभरका पराजुली जसले जहाँबाट म पराजुली हूँ भनेर सामाजिक संजालमा भनिरहँदा वा केही कुरा लेखेको देख्दा मलाई अपनत्वको भावले भावविह्वल बनाउछ ।

    महाधिवेशनमा सहभागिता जनाउनको लागि घरबाट निस्किन हतार–हतार गर्दै थिएँ मानौं माइतीघर जान लागेकी चेलीले बर्सीका बुट्टा नाघ्छे भन्ने लोकोक्ती जस्तै ममा एउटा उमंगको प्रत्याभूति भएको थियो । मनमनै सोच्दै थिएँ माइती घरभन्दा पनि महा माइतीघर जाने हो नि म त किनकि यसमा देशैभरीका पराजुलीहरुको उपस्थित हुने कार्यक्रम हो । जहाँ पराजुली थरका देश र समाजका अग्लो कद भएका आदरणीय वन्धुवान्धवहरुको गरिमामय उपस्थिति हुने कुरामा म पूर्णरुपमा विश्वस्त थिएँ । कानुनको विद्यार्थी भएको हैसियतले र बालापनदेखि नै अन्यायको विरुद्दमा आवाज बुलन्द गर्ने स्वभाव भएकाले हाम्रो समाजमा विद्यमान विभेदको ज्वालाको विरुद्दमा पानी नछम्की बस्न म प्रायः सक्दिन ।

    कार्यक्रममा पुग्दा हलभरी थुप्रै–थुपै्र पराजुलीहरु देख्दा ओहो ! यसैयसै खुसीले मन प्रफुल्लित तथा पुलकित भयो । केन्द्रिय महाधिवेशन भएकाले केन्द्रिय पदाधिकारीहरुको नयाँ कार्यसमिति गठन हुने तयारी हु“दै थियो । पराजुली समाजको विद्यमान विधान अनुसार कार्य समितिको लागि निर्वाचन कमिटीले मनोनयनको समय निर्धारण गरेको थियो । यसक्रममा धेरैजना बन्धुबान्धवहरुले मलाई समेत केन्द्रिय समितिमा मनोनयनको लागि आग्रह गर्नु भयो । सोही अनुसार मैले पनि उहाँहरुको सुझावलाई वेवास्ता गर्न उचित ठानिन ।

    र, केन्द्रिय कमिटिमा रहने गरी आफ्नो मनोनयन दर्ता गराएँ । मनोनयन दर्ता गराइसकेर केही आफ्ना बन्धुबान्धवहरुसँग गफिदै चिया पिउदै गर्दा एकजना पराजुली दाईलाई आफ्नो मनोनयनको कुरा सुनाउदा उहाँले भन्नुभयो “बहिनी तिमीले कमिटीमा कहाँ बस्न मिल्छ त ? पराजुली समाज नेपालको विधानमा विवाहित छोरीचेलीले कमिटीमा बस्न नपाउने प्रावधान वा प्रकरण विद्यमान छ ।” म अचम्ममा परेँ ।

    यसबारे अलि जानेबुझेका अग्रजहरुसँग सोधखोज गरेँ । उहाँहरु सबैले सो विषय सत्य भएको र पराजुलीका छोरीहरु यदि विवाहित छन् भने उनीहरुलाई कमिटीहरुमा वस्न वर्जित गरिएको कुरा सुनाए । मैले आफूलाई अत्यन्त अपमानित भएको अनुभूत गरेँ । सम्पूर्ण शैक्षिक प्रमाणपत्र र योग्यताका प्रमाणपत्र र विभिन्न लाइसेन्सहरु र मेरो मुख्य परिचय पत्र नागरिकतामा पनि पराजुली थर छ । यो भन्दा पर मेरो शरीरका ४६ ओटा क्रोमोजोमको अध्ययन गर्ने हो भने यहाँ कणकणमा पराजुलीको जिन छ ।

    म पराजुलीकै छोरी हो भन्ने प्रमाण मलाई सरकारले दिइसकेको छ तर यो कुराको पुष्टी त मेरो शरीरको सुरुवाती भ्रुणले नै गरिसकेको छ । अनि पराजुली समाज नेपालले विवाहित छोरीको नैसर्गिक सम्बन्धमाथि प्रश्न चिन्ह खडा गर्दछ भने यो समाजको मुख्य ध्येयमाथि पनि प्रतिप्रश्नहरु हुनु अतिशयोक्ति नहोला ।

    यो कस्तो प्रावधान हो ? यस्तो विभेदकारी प्रावधान बनाउनुअघि आफ्ना छोरीहरुलाई कन्यादान दिएर पानीभन्दा रगत बाक्लो हुन्छ भन्ने आधारभूत ज्ञानलाई धर्मरुपी बादलभित्र जानाजान गुम्स्याउने चेष्ठा भएको देखिन्छ । अंग्रेजीमा एउटा भनाइ छ Blood is thicker than water अर्थात रगत पानीभन्दा बाक्लो हुन्छ । जसको अर्थ हो रगतको नाता अन्य नाताभन्दा प्रगाढ हुन्छ ।

    मैले विद्यमान विभेदकारी विधान अविलम्ब शंसोधन हुनुपर्ने कुरा उठान गरेँ । यसमा धेरै युवाहरु र पढेलेखेका विद्धान बन्धुवान्धवहरुले समर्थन गर्नु भयो । सो आवाज वहालवाला अध्यक्षसम्म पु¥याइयो । यस विषयमा आफ्नो राय दिदै लत्कालिन पराजुली समाजका अध्यक्षले दुनियाँ थरसँग विवाह गरेर जानेहरुलाई यस कमिटिमा राख्न नमिल्ने भन्ने आफ्नो संकिर्ण धारणा राख्नु भयो ।

    हाम्रा पिता, माताहरुले नैै हामी छोरीहरुलाई आफ्ना कमिटीमा राख्नबाट वर्जित गरेर यस्तो अपमान गरेपछि संसारमा हामीलाई कसले सम्मान गर्ला ? भन्दै उपस्थित स्नातकोत्तर अध्ययनरत बहिनीले गुनासो पोखिन् । म सोच्न बाध्य भएँ । आफ्ना छोरीहरुलाई जवरजस्त पोइको थरसँग जोडाएर तिमीहरु पराजुली होइनौ आफ्नो पहिचान अर्को थरसँग खोज भन्नु कहाँसम्मको न्याय हो ? पराजुली समाजले बुझ्नु पर्ने हो या होइन ? आफ्ना नाबालाक या सावालक छोरीहरुलाई हरेक पराजुली बाउहरुले यसको जवाफ दिनुपर्छ । मेरो प्रश्न मेरा बुवाहरुलाई छ ।

    सम्पूर्ण पराजुलीका छोरीहरु वा मेरा प्यारा दिदी बहिनीहरु हो, वा अरु कुनै थरका छोरीहरु हो, तिम्रो जन्मजात पाएको तिम्रो बुबा र आमाको थरलाई सम्मान गर र आफ्नो नामको पछाडि अन्य कुनै पुरुषको थरलाई फुँदो बनाएर आफ्ना माता, पिताप्रति र स्वः पहिचानप्रति तिरस्कार नगर । यो मेरो नितान्त व्यक्तिगत आग्रह छ दिदी, बहिनीहरुलाई ।

    होइन भने छोरीहरुले आफ्नो प्रमाणपत्र र नागरिकतामा जन्मजात पाएको थरलाई नलेखेर विवाह पछि पतिको थर राखौँला भनेर नामको पछाडि रिक्त स्थान छोड्न निर्देषित गर्न हाम्रो पराजुली समाजको विधान उद्दत रहन मिल्ला र ? पक्कै नमिल्ला नि ?

    यसरी म आफ्नै पराजुली समाजमा आफ्नै बुवा, काकाहरु, दाजुभाइहरुबाट तिरस्किृत भएको हृदय लिएर घर फर्किएँ । आखिर आफ्नै थरको नामबाट खोलिएका यस्ता संस्थाहरुमा छोरी चेलीको कुनै स्थान रहेनछ । आफ्नै भनिएका थरका यस्ता जातीय समाजहरुले त हामी छोरीहरुलाई यतिसम्म अपमान, तिरस्कार र वर्जित गर्दछन् भने हामीलाई एउटा सम्बन्धको नाताले गाँसिएका पतिका थरका समाजले झन् कस्तो व्यवहार गर्लान् ?

    यसरी पराजुली समाज भनेर मैले जन्मजात प्राप्त गरेको थरसँग जोडिएको संस्था यति धेरै निकृष्ट, यति धेरै विभेदकारी यति धेरै पछौटे सोच भएका व्यक्तिहरुद्वारा निर्मित संस्था रहेछ जसले समाजमा कस्तो परिवर्तन गर्ला भन्ने आशा गरौँ म र हामी छोरीहरु ? मलाई कुनै पदको लोलुपता छैन । तर, विभेदको राजमार्गमा आँखा चिम्लिएर सरासर हिंड्न सक्ने सामथ्र्य पनि मसँग छैन र म चाहन्छु । हामी पराजुलीका छोरीहरु अन्धभक्त भएर खिया लागेका धर्म, संस्कृतिका माखेसाङ्लाहरुलाई जन्जिर ठान्दै त्यस्ता जन्जिरभित्र आफूलाई बन्धक बनाउदै पितृसत्ताको हनुमान नबनौँ ।

    परोपकारका निम्ति खोलिएका यस्ता संस्थाहरुले विभेदकारी विधान परिवर्तन गरोस् । विधानमा लेखियोस् “विवाहित वा अविवाहित पराजुली कुलमा जन्मिएर पराजुली समाजमा सेवा गर्न चाहाने हरेक छोरीहरुलाई जुनसुकै कमिटीमा बसेर आफ्नो क्षमता अनुसारको सेवा गर्न पाउनेछन् ।” पराजुलीको छोरो भएर यस धर्तीमा जन्म लिएकोमा तपाईँ बुवा, दाइ, भाइहरुलाई जति गर्व छ नि त्योभन्दा कम छैन मलाई अनि हामी छोरीहरुलाई ।

    उही तपाईँहरुकी छोरी, दिदी या बहिनी,
    क्रान्ति पराजुली

    प्रतिक्रिया
    सम्बन्धित समाचार