लगानी गर्न विश्वरभरका नेपालीलाई प्रधानमन्त्रीको आग्रह


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख १, २०७८

  • काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ का अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै उनले नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैँले समेत नेपालमै लगानी गर्न विश्वरभरका गैर आवासीय नेपालीलाई आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुर्याउनसमेत आग्रह गरे। “नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पुर्याइ दिनुहोस्”, उनले भने ।

    प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढङ्गले पाउनेसमेत बताए । “तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ”, उनले भने । उनले आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा राखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार