प्रहरीको मास्क अभियान


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १३, २०७८

  • चितवन, वैशाख १३ गते । जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवन मातहतमा रहेका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेका छन् । ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् । चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत गर्दै आएका छन् । ‘तपाईंको मास्क खोइ रु’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहेका छन् ।

    निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेका छन् । मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकांशले मास्क बोकेर पनि नलगाएको पाइएको भन्दै उहाँले मास्क नै नलिई हिँडेकालाई प्रहरीले नै मास्क दिने गरेको बताउनुभयो । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको उहाँले बताउनुभयो ।

    देशभरको १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसको पनि भरतपुर महानगरपालिका क्षेत्र सबैभन्दा बढी जोखिममा भएपछि यहाँ मानिसको भीडभाड हुने कुनै पनि गतिविधि हुन दिइएको छैन । यहाँका विद्यालयसमेत वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पनि २५ जनाभन्दा बढी मानिसको जमघट हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार