खाद्यान्नको जोहो गर्दै थाहा नगरपालिका


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख २५, २०७८

  • टिस्टुङ, २५ वैशाख । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर फैलिदै जाँदा मकवानपुरको थाहा नगरपालिकाले नगरभित्र रहेको खाद्यान्नको दैनिक लेखाजोखा शुरुआत गरेको छ । नगरपालिकाले बजारमा खाद्यान्नको मौज्दातको अनुगमन गरी विवरण दैनिक रुपमा प्रकाशन समेत गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयले आगामी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको र यसपछि पनि थपिने सम्भावना रहेकोले नगरको जनसङ्ख्यालाई धान्न सक्ने खाद्यान्नको लेखाजोखा शुरु गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । हाल नगरको जनसङ्ख्या करिब ५० हजार रहेको बताइएको छ ।

    संङ्क्रमणका कारण थाहा नगरपालिकासहित जिल्लाको चार स्थानीय तहमा निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामा खाद्यान्नसहित अत्यावश्यकीय सामान ढुवानी गर्न छुट दिइएको छ । यही मौका छोपेर व्यापारीले कालोबजारी गर्ने र कृत्रिम अभावको सिर्जना हुन नदिन बजारमा खाद्यान्नको अवस्थाबारे अनुगमन गरिएको नगर प्रमुख विष्टको भनाइ छ । हाल मुख्य बजारमा चामल(सोना) १०९४ बोरा, चामल(जिरा)२१२८ बोरा, दाल(मास)५६ बोरा, दाल(मसुरो) १३० बोरा, तेल(तोरी) ५४ कार्टुन, तेल(भटमास) ३०८८ कार्टुन र चिनी ९९ बोरा मौज्दात रहेको नगरपालिकाले जनाएको छ ।

    “अहिले बजारमा खाद्यान्नको अभाव छैन, किनेर खान नपाइने अवस्था आएमा नागरिकहरुले जुनसुकै बेला हामीलाई गुनासो गर्न सक्छन् । हामी किन्ने ठाउँ देखाइदिन्छौं ।” सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले भन्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट