जिल्ला अस्पताललाई कोभिड अस्पताल


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख ३१, २०७८

  • जाजरकोट, बैशाख ३१ । जिल्ला अस्पताललाई कोरोना अस्पतालका रूपमा रुपान्तरण गरिएको छ। लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना सङ्क्रमितको उपचार गरिन लागेको हो। यसअघि केही शय्यामा मात्रै सङ्क्रमितको उपचार भइरहेको थियो।

    सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक टीकाराम जैशीले बताए। नियमित तथा अरू रोगका बिरामीको उपचार कोरोना सङ्क्रमित भएका बिरामीलाई राखिएको ठाउँबाट झण्डै १०० मिटर नजिकको स्थानबाट हुँदै आएको छ। जैशीका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ। अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो।

    अहिले जिल्ला अस्पतालमा १०३ आइसोलेशन शय्या रहेका छन्। आइसीयूकक्ष तीन, भेन्टिलेटर एक, अक्सिजन सिलिण्डर ५४, एचडीयू शयुया एक, अक्सिजनसहितको शय्या ३३ र साधारण आइसोलेशन ३३ रहेको छ। थप अक्सिजन सिलिण्डर खरिदका लागि बुधबार बोलपत्र आह्वान गरिएको छ।

    त्यस्तै छेडागाड नगरपालिकाले १५ शश्याको कोभिड आइसोलेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए। प्रत्येक पालिकालाई १५ शश्याको आइसोलेशन बनाउन निर्देशन गरिएबमोजिम काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार