उदयपुरमा सेना परिचालन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ ४, २०७८

  • चित्रकुमार कार्की, उदयपुर, ४ जेठ। उदयपुरमा कोरोना संक्रमण नियन्त्रण गर्न र जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाली सेनाको मोबाइल पेट्रोलिङ टोली परिचालन गर्ने निर्णय गरिएको छ। सोमबार बसेको डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो ।

    निर्णयमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सेना परिचालन गर्न लागिएको उल्लेख गरिएको छ । एम्बुलेन्स, शवबहान र विरामी बोकेको सवारी साधन बाहेक अन्य सवारी साधनमा रोक लगाउने निर्णय बैठकले गरेको हो । यस्तै कटारी बजार पूर्ण रुपमा बन्द गर्ने, त्रियुगा नगरपालिका वडा नं। १६ र बेलका नगरपालिका ४ गुरुङ चौरीलाई सिल गरिने निर्णय गरिएको छ ।

    बैठकले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि स्थानीय सरकारहरुले डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कार्य गर्ने, राष्ट्रिय र यसै वर्ष सम्पन्न गर्नु पर्ने जिल्लास्तरीय ठूला आयोजनाहरुलाई मात्र निरन्तरता दिने निर्णय गरेको छ । यसैगरी उदयपुरका कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या पनि जटिल हुँदै गएकाले संक्रमितहरुको निगरानीको लागि सिसिटिभी क्यामरा जडान गर्ने र आवश्यक औषधी र दक्ष जनशक्तिको व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

    होम आइसोलेसनमा रहेका संक्रमितहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुलाई औषधी, पोषणयुक्त आहार, आयुर्वेदिक चुर्ण तथा मनोसामाजिक परामर्श दिन घरदैलो कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट