शुक्लागण्डकीमा मोबाइल रक्तदान अभियान


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ७, २०७८

  • तनहुँ, ७ जेठ । निषेधाज्ञाको समयमा रगतको अभाव हुँदै जान थालेपछि शुक्लागण्डकी नगरपालिकामा मोबाइल रक्तदान अभियान सञ्चालन गरिने भएको छ । दुलेगौँडास्थित शुक्लागण्डकी एफएम, लियो क्लब अफ दुलेगौँडा, खैरेनी सिटी र युवा नेपाल समिति तनहुँको बिहीबार बसेको बैठकले संयुक्तरूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    कोरोना महामारीमा ठुलो सङ्ख्यामा रक्तदाताहरु जम्मा गराएर कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले मोबाइल भ्यानमार्फत नगरका विभिन्न स्थानमा पु¥याएर रक्तदाताबाट रगत सङ्कलन गर्ने निर्णय गरिएको युवा नेपाल समितिका ऋतु भुवाईले जानकारी दिनुभयो । विभिन्न अस्पताल तथा क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र पोखराले रगत अभावमा सुत्केरी महिला, दीर्घ रोगी र मिर्गौलाका नियमित डायलाइसिसका बिरामीले कठिनाइ भोग्नुपरेको बताएपछि उक्त अभियान थालिएको उहाँले बताउनुभयो । शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले नगरपालिकाको कोत्रे, गाछेपानी, दुलेगौँडा, ढोरफिर्दी, खैरेनीटार, बेलचौतारा र खैरेनीटारमा कार्यक्रम गरि ३० युनिट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । इच्छुक रक्तदाताहरुले व्यक्तिगत वा पाँच जनाको समुह बनाएर मोबाइल भ्यान बोलाउन सकिने उहाँले बताउनुभयो ।

    निषेधाज्ञाका कारण नियमितरूपमा रक्तदान हुन नसकेकाले रगतको अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । पोखराका विभिन्न ठाउँमा मोबाइल भ्यान लगेर केही मात्रामा सङ्कलन गरिरहे पनि पर्याप्त नभएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार