गैंडा छाप सिमेन्टले २ अर्व ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ १३, २०७८

  • चित्रकुमार कार्की, उदयपुर, १३ जेठ । उदयपुर गैंडाछाप सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणका लागि सेयर जारी गरेर उद्योगको पुँजी बढाउने बताएको छ। उद्योगमा शतप्रतिशत सरकारको लगानी छ । यसको अधिकृत तथा चुक्ता पुँजी अहिले चार अर्ब रुपैयाँ रहेको छ ।

    यसलाई बढाएर १० अर्ब रुपैयाँ बनाउने योजना अनुरुप जेठ ३० मा गर्न लागिएको साधारणसभामा प्रस्ताव लगिँदै छ । हाल उद्योगले सरकारलाई तिर्नुपर्ने ऋणको सावाँ तथा ब्याज करिब साढे तीन अर्ब रुपैयाँ रहेको छ । उक्त रकमलाई पनि साधारण सेयरमा परिणत गरेर ऋण चुक्ता गर्ने प्रस्ताव साधारसभामा लैजान लागिएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताएका छन् ।

    त्यसपछि कम्पनीको चुक्ता पुँजी करिब साढे सात अर्ब रुपैयाँ पुग्नेछ । अधिकृत पुँजी १० अर्ब अनुरुप बाँकी करिब दुई अर्ब ६१ करोड रुपैयाँ हाराहारी पुँजी पूरा गर्न सबैभन्दा राम्रो विकल्प सेयर जारी (आइपीओ) हुने न्यौपानेले बताए । पछिल्ला केही वर्षयता निजी क्षेत्रका सिमेन्ट उद्योगहरु ठूलो क्षमताका साथ आक्रामक रुपमा अघि आएसँगै कुनै समय बजारमा एकछत्र राज गरेका गैंडा र उदयपुर ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने यो उद्योग अहिले बजार प्रतिस्पर्धामा निक्कै पछि परिसकेको छ ।

    यसैले उद्योगको क्षमता विस्तारसँगै दिर्घकालीन व्यापारमा खरो उत्रिएर निजी क्षेत्रका अन्य सिमेन्ट उद्योगसँग प्रतिस्पर्धी हुनका लागि पुँजी तथा लगानी वृद्धिको योजना अघि सारिएको न्यौपानेको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार